चन्दननाथ नपा-२ खोलकोट निवासी नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत अवस्थामा फेला परेका छन् । साउन २० गते राति चन्दननाथ नपा-५ जुगाडखोला नजिकै उनको शव भेटिएको हो ।

मृतकको टाउकोमा धारिलो हतियारले चोट लागेको छ । मृतक बुढथापाका परिवारले हत्या भएको भन्दै घटनामा संलग्न पक्षलाई कारबाहीको माग गरेका छन् । नयाँ शक्ति पार्टी जुम्लाले घटनाको सत्यतथ्य पत्ता लगाई कारबाहीको माग गरेको छ । पार्टीको जिल्ला संयोजक नरेन्द्रनाथ योगीद्वारा साउन २१ गते जारी विज्ञप्तिमा उक्त माग गरेका हुन् ।
मृत अवस्थामा फेला परेका बुढथापाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शव घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश केसीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आरोपमा चन्दननाथ नपा-६ कासनलाइट होटलका मालिक २९ वर्षीय खड्गजित रोकाया र ४२ वर्षीय एङ्गल लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवको पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको जनाइएको छ ।