INSEC Online

📅 २०८३ जेष्ठ २१

आफ्नै आदेश कार्यान्वयन नभएपछि अदालतको अर्को आदेश

गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारी गाउँमा फेला नपरेपछि उनको नामको म्याद पुनः तामेल जारी गर्ने आदेश भएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले साउन २० गते आइतबार यस्तो आदेश गरेको हो ।

यसअघि फुजेल गाउँमा रहेको चौतारमा म्याद तामेल भएको थियो । भोलि सोमबार उनको घर गोरखा फुजेलमा नै म्याद तामेल हुने गरी पठाउन लागिएको चितवन अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले बताए । उनलाई भदौ ४ गते सोमबारका लागि बकपत्र गर्न अदालतले आदेश गरेको छ ।

अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला गर्न लागिएको भन्दै जाहेरवाला पक्षका वकिलहरूले आपत्ति प्रकट गरेपछि पुनः म्याद तामेल जारी गर्न न्यायाधीश शर्माबाट आदेश भएको हो ।

०७४ फागुन १३ गते आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालतमा हाजिर हुन आदेश गरेको थियो ।

मुलुकी ऐन २०२० को अदालती बन्दोवस्तको ११५ अनुसार ‘नबुझी नहुने’ भन्दै नुरप्रसादलाई आगामी ०७४ चैत २५ गते आइतबार अदालतमा बकपत्रका लागि हाजिर हुन आदेश गरेको थियो । तर, उनी अझैसम्म अदालत हाजिर भएका छैनन् । नुरप्रसादको परिवार ०६४ पुस १० गते नै गाउँ छाडेर गोरखा सदरमुकाम विस्थापित भएको जनाइएको छ ।
पहिलो म्याद तामेली पीपलबोटमा
गोरखा जिल्ला अदालतबाट म्याद तामेलका लागि गएका तामेलदार टीकाराम थापाले नुरप्रसादलाई नभेटेपछि र उनको घर समेत नभेटिएकाले नजिकैको चौतारामा पीपलको रूपमा म्याद टाँसेर फर्केका छन् । गत फागुन २२ गते म्याद तामेल भएको थियो । गण्डकी गाउँपालिका–३ का वडाअध्यक्ष नवराज श्रेष्ठले वडा कार्यालयमा पनि म्याद तामेल भएको कागजमा रोहवरको रूपमा हस्ताक्षर गरेका छन् ।
नुरप्रसाद प्रहरी नियन्त्रणमा
भाइ कृष्ण अधिकारीको हत्या गाउँकै १३ जनाको मिलेमतोमा भएको भनी जाहेर दिएका व्यक्ति नुरप्रसाद अधिकारी साउन २० गते बिहान ललितपुरको सानेपाबाट गिरफ्तारीमा परेका छन् । प्रहरीले उनलाई सानेपामा फेला पारेको जनाएको छ । विगत चार वर्षदेखि उनी सम्पर्कविहीन थिए ।
अधिवक्ताको आपत्ति
अधिकारी हत्या प्रकरणमा न्यायाधीश कुलप्रसाद शर्माले पत्रकार सम्मेलन गरी मुद्दा फैसला मिति तोकेर पीडितमाथि अन्याय गरेको भन्दै अधिवक्ताहरूले आपत्ति जनाएका छन् । वरिष्ठ अधिवक्ता वाबुराम गिरीले विचाराधीन मुद्दाबारे सम्बन्धित न्यायाधीशले पत्रपत्रिकामार्फत अभिव्यक्ति दिनु त्रुटिपूर्ण रहेको बताए । साथै अर्का अधिवक्ता इन्द्र अर्यालले गङ्गामायाले न्यायाधीश शर्माविरूद्ध न्याय परिषद्मा उजुरी दिएको अवस्थामा उनीसम्बद्ध मुद्दा तीनै न्यायाधीशले हेर्नु न्यायसङ्गत नहुने तर्क राखेका थिए ।

अन्य

भिडियो