१२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दासलाई तीन वर्षपछि प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालत बुझाइएका आरोपितलाई कैद असुल गर्न राजविराज कारागारमा थुनामा पठाइएको अदालतका तहसिलदार किरणकुमार सिंहले बताए ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले असार १७ गते गरेको फैसलाबमोजिम दासलाई आठ वर्षका लागि कारागारमा थुनामा पठाइएको जनाउँदै तहसिलदार सिंहले फैसलाबमोजिम दासबाट पीडितलाई क्षतिपूर्ति समेत भराइने बताए ।
पीडित बालिकालाई आरोपितले ०७२ भदौ १ गते बलात्कार गरेको आरोप थियो । आरोपितलाई स्थानीयबासीले घटनास्थलबाट नियन्त्रणमा लिई भदौ २ गते इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा बुझाएकोमा सहमतिमा घटना मिलाउने प्रयत्न गरेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले उसै दिन साँझ नपर्दै दासलाई निजका बावु साधुशरण दासको जमानतमा छाडेको थियो ।
आरोपितविरूद्ध पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएर एकसाता धाएपछि मात्र ०७२ भदौ ९ गते पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
अधिकारकर्मीहरूले आवश्यक अनुसन्धान गर्न दबाब दिएपछि आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयले ०७२ भदौ १० गते उजुरी दर्ता गरेको थियो ।
प्रहरीले आरोपितलाई छाडिसकेकाले जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले फरार दासका नाममा ०७२ असोज १ गते वारेण्टसहितको म्यादी पूर्जी जारी गरेको बताए ।
एक वर्षपछि अदालतमा हाजिर भएका दासलाई जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलासले ०७३ असोज १२ गते २० हजार धरौटी राख्न लगाएर रिहा गरेको थियो ।
जनकपुर उच्च अदालत राजविराज इजलासले ०७३ चैत १७ गते थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि दास तारेख छाडेर फरार भएका थिए । फरार रहेका दासलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेपछि कारागार पठाइएको हो ।