जिल्ला कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको सङ्कट भएको हो । दैनिक बिहान-बेलुका गरी दुई घण्टा मात्र पानी आउने धारामा कैदीबन्दीलाई लाइन लाग्नुपर्ने बाध्यता छ ।
१ सय ८० कैदीबन्दीको क्षमता रहेको जुम्ला कारागारमा ४९ जना मध्ये चार जना थुनुवा र ४५ जना कैदी बस्दै आएका छन् ।
‘सबै कैदीबन्दीको लागि एउटा मात्र धारा छ । त्यसमा पनि पानी नियमित आउँदैन । नियमित पानी नआउँदा सरसफाईका लागि निकै समस्या हुने गरेको छ ।’-जेलर टङ्कराज न्यौपानेले भने ।
‘खलङ्गा खानेपानी उपभोक्ता समितिबाट जडान गरिएका दुई वटा धारामध्ये एउटा मात्रै सञ्चालनमा छ ।’-जेलर न्यौपानेले भने-‘सञ्चालनमा रहेको धारामा नियमित पानी नआएकै कारण समस्या भएको हो ।’
साँझ र बिहान गरी दुई घण्टा मात्रै धारामा पानी आउँछ । कारागारमा दैनिक १० हजार लिटर पानी आवश्यक पर्छ । दुई घण्टा आउने पानीले समस्या समाधान नहुने भन्दै जेलर न्यौपानेले नियमित पानी आए मात्रै यो समस्या समाधान हुने बताए । उनका अनुसार अपुग पानी जेनेरेटरमार्फत तिला नदीबाट तान्ने गरेको छ । ‘दुषित भएकाले पिउन मिल्दैन । अहिले कारागारमा पानीको सङ्कट परेको छ ।’-न्यौपानेले भने ।
जेनतेन अहिले थुनवा र कैदीलाई आवश्यक पर्ने पानीको बन्दोबस्त गरिएको कारागार जुम्लाले जनाएको छ । कारागारमा अपुग भएको पानी पूर्तिका लागि खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय जुम्लाबाट काम भइरहेको छ ।
१० हजार लिटर पानी अट्ने क्षमताको इन्टेक निर्माण र पाइप लाइनलगायतका काम भइरहेको जेलर न्यौपाने बताए । उनका अनुसार खानेपानीसँगै कारागारमा बिजुलीको पनि समस्या रहेको छ । बिजुलीको लाइन तान्ने काम भएपनि बिजुली बाल्न सकिएको छैन । स्रोत साधनको कमीका कारणले बिजुलीको समस्या रहेको उनको भनाई छ ।
२४ सै घण्टा बिजुली आवश्यक पर्ने कारागारमा अहिले सोलारबाट बिजुली बालिएको छ । कारागारमा खानेपानी र बिजुलीको समस्या भएकाले समाधानका लागि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरिएको कारागार प्रशासनले जनाएको छ । पानी नहुँदा दुषित पानी पिउन र बिजुली नहुँदा अन्धकारमा बस्न कैदी बन्दी बाध्य छन् ।