सुस्त मनस्थितिकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गौशला नपा-६ फुलकाहाका २२ वर्षीय भीम भनिने सञ्जिव साहविरूद्ध पीडितले साउन ९ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दर्ता गराएकी छन् ।
पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको घटनालाई गाउँ मै मिलाउने प्रयास हुँदा प्रहरी अनुसन्धान प्रभावित भइरहेको अवस्थामा इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहको पहल तथा इलाका प्रहरी कार्यालय गौशालाको मातहतमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा पीडितले आरोपितविरूद्ध लिखित उजुरी दर्ता गराएकी हुन् ।
पीडित महिलाले साउन ३ गते घटनाको मौखिक उजुरी दिएको इलाका प्रहरी कार्यालय गौशालाका सई मेघराज चौरसियाले जानकारी दिए ।
‘हामीले पीडित महिलाको स्वास्थ्य परीक्षण त्यहि दिन अर्थात साउन ३ गते नै जलेश्वर जिल्ला अस्पतालमा गराइसकेका छौँ ।’र्सइ चौरसियाले भने-‘तर, पीडित पक्षबाट किटानी उजुरी नपर्दा कारबाही प्रक्रिया अगाडि बढाउन समस्या भइरहेकोमा अब लिखित उजुरी परेपछि कारबाही प्रक्रिया अगाडि बढाउन लागि परेका छौँ ।’ पीडितले प्रहरीमा दिएको हुलियाका आधारमा आरोपित साहको खोजी भइरहेको उनको भनाइ छ ।
गौशाला नपा-६ का वडा अध्यक्ष नथुनी राउत र केही स्थानीयले प्रहरीमा उजुरी दर्ता गर्न ढिलाइ गरी आरोपितसँग घटना मिलापत्र गराउन खोजेका थिए ।