विद्यार्थीको आन्दोलनका कारण सुन्दरबजार नपा-७ स्थित जिल्ला कृषि क्याम्पसमा विगत एक साता देखि पठनपाठन बन्द भएको छ ।
क्याम्पस प्रशासनसँग व्यवस्थित छात्राबास, शुद्ध खानेपानी र प्रविधिमैत्री क्याम्पसको माग गर्दै नेकपा र नेपाली कङ्ग्रेस निकट विद्यार्थीहरूले संयुक्त रूपमा आन्दोलन गरेको नेकपा निकट विद्यार्थी नेता शिशिर सिंह बोहराले बताए ।
विद्यार्थीले उठाएको सामान्य माग पनि प्रशासनले पुरा गर्ने चासो नदेखाएपछि विद्यार्थीहरूले असार ३१ गतेदेखि क्याम्पसमा आन्दोलन गर्नुपरेको नेविसङ्घका विद्यार्थी नेता सविन दवाडीले बताए । आफ्नो माग पूरा नभएसम्म क्याम्पस चल्न नदिने अनेरास्ववियुका निवर्तमान अध्यक्ष दिपेश चौधरीको भनाई छ ।
क्याम्पस प्रमुख डा. विश्वविलास अधिकारीका अनुसार आफूले मात्र विद्यार्थीको माग पूरा गर्न नसक्ने भएपछि क्याम्पसका डीनसँग सल्लाह गरेर पुरा गर्ने भनी विद्यार्थीलाई सम्झाउँदा नमानेर विद्यार्थीहरूले आन्दोलन गरेको आरोप लगाए ।
क्याम्पसका डीन, क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनबीच वार्ता गरेर क्याम्पसमा पठनपाठन सुचारू गर्ने वातावरण मिलाउन आफू प्रतिबद्ध रहेको क्याम्पस प्रमुख डा. विश्वविलास अधिकारीले बताए । आफ्ना माग पुरा नभए आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त विद्यार्थी आन्दोलनका संयोजक भुपिन्द्र न्यौपानेको भनाई छ ।