INSEC Online

📅 २०८३ जेष्ठ २१

प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन, सेवाग्राही मर्कामा

दुई जना चिकित्सकको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन हुँदा यस क्षेत्रका विरामी मर्कामा परेका छन् ।

तीन महिना अघिसम्म करार र ओजेटी गरी चार जना डक्टरले सेवा दिइरहेको दक्षिण रोल्पाको एक मात्र ठूलो स्वास्थ्य संस्था एकाएक चिकित्सकविहीन हुँदा बिरामीहरू जिल्ला बाहिर जान बाध्य भएका छन् ।

साथै पोष्टमार्टमका लागि पनि सदरमुकाम वा दाङ पुर्‍याउनुपर्ने बाध्यता रहेको रुन्टीगढी गाउँपालिका-८ का जनक पुनले गुनासो गरे । डक्टर नहुँदा सामान्य बिरामीलाई पनि रिफर हुने भएकाले घोराही जानुपर्ने बाध्यता रहेको पुनले बताए ।

‘दुई जना डक्टरको सरुवा भयो ।’-रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बुढाले भने-‘एक जनाले राजीनामा दिए भने अर्का विदेश गए ।’

धेरै बिरामी आउने ठाउँ भएकाले अहिले रिफर गर्नुको विकल्प नभएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका निमित्त इञ्चार्ज राधा बरालले बताइन् । ‘प्रसूति र सामान्य उपचार सेवा भएतापनि अहेवले बिरामी हेरेको डक्टरले हेरे जस्तो हुँदैन ।’-उनले भनिन् । सबै भन्दा ठूलो समस्या भिडियो एक्सरेको रहेको बरालले बताइन् । ‘भाँचिएको र इञ्जुरीका केस आउँछन् । हामीले छुट्याउन सक्दैनौँ ।’-उनले समस्या सुनाइन् ।

‘डक्टर नबस्ने होलेरीको यो समस्या पुरानै हो ।’-स्थानीय ऋषिराम श्रेष्ठले भने-‘डक्टर बस्न रुचाउँदैनन् वा केन्द्रबाट पठाउन चाहन्नन् ।’ यस विषयमा जानकारी नभएर आफूहरूले सधैँ सास्ती खेप्नु परेको उनको गुनासो छ ।

उता रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने यस विषयमा जिल्लामा जानकारी गराएकाले तत्काल समस्या समाधान हुने बताए ।

अन्य

भिडियो