शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक परीक्षा नेपालगञ्जमा तोकेपछि जिल्लाका अधिकांश विद्यालयका विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् ।
जिल्लाका ४२ विद्यालयका करिब ७५ प्रतिशत अस्थायी शिक्षक परीक्षा दिनकै लागि असार १४ गतेदेखि नेपालगञ्ज झरेपछि हुम्लाका करिब ९० वटा विद्यालयका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।
नाम्खा गाँउपालिका-१ स्थित बुद्ध निमावि हेक्पामा तीनजना शिक्षकको दरबन्दीमा दुई जना शिक्षक आयोगद्वारा असार ३० गते सञ्चालन हुने प्रावि तहको आन्तरिक परीक्षा दिन झरेपछि विद्यालयमा एक जना शिक्षकले पठनपाठन गरिरहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बर्खबहादुर फडेराले जानकारी दिए ।
सो विद्यालयमा कक्षा आठसम्म पठनपाठन हुँदै आएको छ । त्यस्तै ताँजाकोट गाँउपालिका-३ को कैलाश प्राविमा पनि तीन जना शिक्षकको दरबन्दी रहेकामा दुई जना शिक्षक परीक्षा दिन नेपालगञ्ज झर्दा विद्यालय खोल्ने काम बाहेक पठनपाठन नभएको स्थानीयबासी जगतबहादुर शाहीले गुनासो गरेका छन् ।
उक्त विद्यालयमा कक्षा पाँचसम्म पठनपाठन हुँदै आएको छ । सोही गाउँपालिकाकै शारदा प्राविमा पनि तीन जना दरबन्दी रहेकामा एक जना शिक्षक परीक्षा दिन जाँदा दुई जनाले विद्यालय सञ्चालन गरी रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख फडेराको भनाई छ ।
प्रमुख फडेराका अनुसार ताँजाकोटकै धर्मोदय माविमा एक जना राहत दरबन्दी भएको उक्त दरबन्दीको शिक्षक पनि आयोगको परीक्षाको तयारीका लागि जिल्ला बाहिर गएका कारण निमावि र प्राविका शिक्षकका भरमा विद्यालय सञ्चालन भइरहेको बताए ।
जिल्लामा मावि २६, निमावि ५५ र प्रावि तहका १ सय ३८ वटा विद्यालय रहेका छन् । यतिखेर आयोगको परीक्षाका कारण जिल्लाका ८५ देखि ९० विद्यालयको पठनपाठन प्रभावित भएको छ ।