सीमाङ्कन विरूद्धको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर नपा-६ का २१ वर्षीय अनिश पन्तले राज्य पक्षबाट उपचार खर्च नपाएको गुनासो गरेका छन् ।

पन्तले ०७५ असार २७ गते अधिकारकर्मी तथा सञ्चारकर्मीसँग वीरेन्द्रनगरमा भएको भेटमा यस्तो गुनासो गरेका हुन् ।
१८ वर्षको उमेरमा आन्दोलनमा होमिँदा देब्रे हातमा गोली लागि घाइते भएका पन्तको हाल काठमाडौँमा नियमित उपचार गर्नुपरेपनि प्रदेश सरकार तथा राज्यको कुनै पनि निकायले सहयोग नगरेको उनको आरोप छ । उपचार खर्चका लागि आफूले राज्यको सबै तहमा पहल गरेपनि सुनुवाइ नभएको पन्तले आरोप लगाए ।
‘सीमाङ्कन विरूद्धको आन्दोलनको क्रममा ०७२ साउन २५ गते प्रहरीले चलाएको गोली लागेपछि बेहोस भएर ढलेछु । रातारात काठमाडौँ पुर्याएछन् ।’-घाइते पन्तले भने-‘गोलीको चोटका कारण बीचमै अध्ययन छोड्नुपर्यो । हात दुखिरहने समस्या अझैपनि छ ।’
महिनामा दुईपटक उपचारका लागि काठमाडौँ जानुपर्दा आर्थिक समस्या भएको घाइते पन्तकी आमा आरती पन्तले बताइन् ।
यसैबीच सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेश सरकारले लोकतन्त्र स्थापना, सीमाङ्कन र सशस्त्र द्वन्द्वका घाइते तथा मृतकका परिवारलाई राहत तथा निशुल्क औषधि उपचारको कार्यक्रम अघि सारेको बताए ।