छाउगोठमा बसेकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २० गते इलाका प्रहरी कार्यालय बावियाचौरमा उजुरी दर्ता गरिएको छ ।
छाउगोठ बसेकी पीडितलाई असार १८ गते राति बराहताल गाँउपालिका-६ का १८ वर्षीय जनक शर्मा, १५ वर्षीय र १४ वर्षीय बालकसमेतले बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते इलाका प्रहरी कार्यालय बावियाचौरमा उजुरी दिएको हो ।
आरोपित तीनैजनालाई प्रहरीले असार १९ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका इन्स्पेक्टर सुशोभन श्रेष्ठले बताए ।
घरनजिकै रहेको छाउगोठमा बसेकी दुई जना बालिकामध्ये एकजना बालिकालाई छाउगोठबाट भगाएर अर्की बालिकालाई तीनजनाले सामूहिक बलात्कार गरेको इन्स्पेक्टर श्रेष्ठले बताए ।
आरोपित विरुद्ध असार २० गते जबरजस्ती करणीमा मुद्दा दायर गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल सुर्खेतमा असार १९ गते गरिएको थियो ।