INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचार खर्च नहुँदा माओवादी सेनाकी पूर्व लडाकु दुई वर्षदेखि गाईगोठमा

सशस्त्र द्वन्द्वमा तत्कालीन नेकपा माओवादीमा लागेकी त्रिवेणी गाउँपालिका-५ जुँगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक ‘साधना’ उपचार खर्च नहुँदा छारे रोगले थलिएपछि दुई वर्षदेखि गाईगोठमा बस्न बाध्य भएकी छन् ।

पीडित साधनालाई उपचार गर्ने खर्च नहुँदा दुई वर्षदेखि बाख्रा र कुखुरासँगै गोठमा सुताइएको छ । विगत सात वर्षदेखि बिरामी भएकी साधनालाई सुरूमा उपचारका लागि भारतसम्म लगिएको भएपनि निको नभएपछि उपचार खर्चको अभावमा दुई वर्षदेखि यता घरमै थला परेकी उनकी सासू क्वारी बिकले गुनासो गरिन् ।

छारे रोगबाट पीडत साधना घरमा कोही नभएको बेला आगोमा परेर दुई ओटै गोडा जलेपछि झन् थला परेकी हुन् । ‘जनताको अधिकारका लागि लडेकी बुहारी आज रोगले थलिएकी छन् ।’-सासू क्वारीले भनिन्-‘तर, कसैले वास्ता गरेका छैनन् ।’ आर्थिक अभावले आफैँ पनि उपचार गर्न सकेका छैनौँ ।’

जलेको गोडा गन्हाउन थालेपछि उनलाई दुई वर्षयता खोरमा राख्ने गरिएको उनले बताइन् । सञ्चो हुने आशमा धामी, झाँक्री लगाइएको भएपनि स्वास्थ्यमा कुनै सुधार नआएको उनले गुनासो गरिन ।

पीडित साधनाका पति पनि पूर्व जनमुक्ति सेना हुन् भने उनको एक सात वर्षीय छोरा छन् । अहिले उनका पति अर्को विवाह गरेर अन्यत्रै बस्दै आएका छन् । गरिबीका कारण उनको परिवारले उनलाई राम्रो ठाउँमा लगेर उपचार गर्न सकेका छैनन् । अहिले उनको स्याहार सासूले गर्दै आएकी छन् ।

साधनाले शरीरमै शौच गर्ने भएकाले उनको शरीरमा लुगा हुँदैन । ‘शरीरमै शौच गर्ने भएकाले पटक-पटक लुगा फेरिराख्नु पर्ने हो । तर हामीसँग पटक-पटक फेर्ने लुगा छैन ।’-सासू क्वारीले दुखेसो सुनाउँदै भनिन्-‘बुहारीको लाज छोप्नलाई नै समस्या पर्ने गरेको छ ।’

चुनावका बेला भोटका लागि आउने थुप्रै नेताले उपचारका लागि सहयोग गर्ने बताएपनि अहिले कसैले वास्ता नगरेको पीडित परिवारको गुनासो छ ।

अन्य

भिडियो