स्वास्थ्य चौकी टाढा भएका दुर्गमका विद्यालयमा विद्यार्थीलाई सामान्य चोट पटक लाग्दा विद्यालयमै प्राथमिक उपचार दिने उद्धेश्यले रोल्पाका विद्यालयमा सुरू गरिएको ‘फष्ट एड बक्स’ मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा परेका छन् ।
जिल्ला अस्पतालबाट औषधि नआएको भन्दै ०७४ फागुनदेखि स्वास्थ्य चौकीले औषधि दिन छाडेपछि विद्यार्थी यो सेवा पाउनबाट वञ्चित भएका हुन् । दुई वर्षअघि जिल्ला शिक्षा कार्यालयको साझेदारीमा सेभ द चिल्ड्रनको सहयोगमा प्रत्येक विद्यालयबाट एक जना शिक्षक वा शिक्षिकालाई तालिम दिई यो सेवा सञ्चालन गरिएको थियो ।
स्वास्थ्य चौकी नजिकमा नभएका दुर्गमका विद्यालयमा अत्यन्त प्रभावकारी हुँदै आएको यो कार्यक्रम अहिले बन्द हुँदा विद्यार्थी मर्कामा परेको पँधेरा प्राथमिक विद्यालय रोल्पा नपा-९ हृवामाका शिक्षिका विष्णुकुमारी डाँगीले गुनासो गरिन् ।
‘बालबालिकाहरू खेल्ने क्रममा सामान्य चोट पटक लाग्दा तत्काल ड्रेसिङ गरी मलमपटि्ट गर्न सकिन्थ्यो ।’-शिक्षिका डाँगीले भनिन्-‘अहिले औषधि अभावका कारण सेवा बन्द हुँदा विद्यार्थीहरू घण्टौँ हिँडेर स्वास्थ्यचौकी जानुपर्ने बाध्यता रहेको छ ।’
सामान्य चोट पटकबाट वा झाडापखालाबाट कहिलेकँही गम्भीर समस्या उत्पन्न हुने भएकाले विद्यालयमा देखिएको यो समस्यालाई तत्काल हटाउन आफूले सम्बन्धित स्थानीय तह र निकायहरूमा पहलगर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए ।
‘जुनसुकै बहानामा पनि यस्तो प्रभावकारी कार्यक्रमलाई बन्द हुने गरी अवरोध कुनैपनि निकायबाट हुनुहुँदैन ।’-प्रमुख बुढाले भने-‘यो समस्याको तत्काल समाधान गर्न पहल गर्छु ।’