सिमकोट गाउँपालिका-४ हिल्दुमस्थित बालविकास प्रावि अज्ञात व्यक्तिको समूहले असार १७ गते तोडफोड गरेका छन् । उक्त समूहले विद्यार्थीको खाजाको सम्पूर्ण सामान लगेका छन् भने विद्यालयको कागज-पत्र च्यातेर नष्ट गरेको विद्यालय प्रशासनले जनाएको छ ।
रातिको समयमा बालविकास प्राविको झयाल तोडेर अज्ञात पक्षले विद्यार्थी र शिक्षकको हाजिरी रजिष्टार, यसै वर्षप्रावि शिक्षा उत्तीर्ण भएका विद्यार्थीको लब्धाङ्क-पत्र, गत वर्षको लेखा परीक्षण प्रतिवेदन, र विद्यार्थीहरूको दिउँसोको खाजास्वरुप चिनी, चिया, चिउरा, स्टेशनरी र दैनिक रूपमा विद्यार्थीलाई पठनपाठनमा प्रयोग हुने सामान चोरी भएको तथा विद्यालयका कागजपत्र च्यातिएर नष्ट भएको प्रधानाध्यापक जयदेवी शाहीले बताइन् ।
उनले भनिन्-‘विद्यालयको विभिन्न सामान तोडफोड भएपछि पठनपाठन गर्न पनि समस्या भइरहेको छ ।’
सो विद्यालयमा चार जना महिला शिक्षक मात्र कार्यरत छन् । उक्त पक्षले झ्याल फोरेर भित्र रहेका दैनिक प्रयोजनका सामान तोडफोड गरेको शिक्षक सुनाम याङजु लामाले बताइन् ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा असार १८ गते उजुरी गरेको भएपनि तोडफोड गर्ने व्यक्ति/समूह पत्ता नलागेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए ।
जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयका प्रमुख वर्षफडेराले घटनाबारे आफूलाई कुनै औपचारिक खबर नआएको बताए । आजै सो विद्यालयको स्थलगत अध्यन गरेर वास्तविकता के हो ? बुझ्न जाने समेत प्रमुख फडेराले बताए ।