INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकार शिक्षा

मानव अधिकार निगरानी समूहको आयोजना तथा कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा असार १७ गते एक दिवसिय मानव अधिकार शिक्षासम्बन्धी अभिमूखीकरण कार्यक्रम तौलिहवामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रदेश ५ का प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवले जनप्रतिनिधिहरूले नागरिकको मानव अधिकार संरक्षण सम्बर्द्धनका लागि पछाडि पारिएका समुदायलाई माथि अउठाउनु पर्ने बताए ।

Photo20180702Kapilvastu

हरेक नागरिकको नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, समाजिक र सांस्कृतिक अधिकारको प्रत्याभुत हुने गरी जननिर्वाचित प्रतिनिधिहरूले काम गर्नुपर्ने कुरामा उनले जोड दिए ।

प्रदेश सांसद रिना नेपालीले मानव अधिकार रक्षकहरूका लागि अभिमूखीकरण कार्यक्रम प्रभावकारी भएको भन्दै सबै नागरिकले महसुस गर्ने गरी जनप्रतिनिधिहरूले काम गर्नु पर्ने कुरामा जोड दिँदै आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको मानव अधिकारको पनि ख्याल गर्नु पर्ने बताइन् ।

प्रदेश सांसद शुष्मा यादवले मानव अधिकार शिक्षा कार्यक्रमबाट मानव अधिकार र न्यायिक अधिकारको विषयमा जानकारी भएको बताइन् । यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरीले अधिकार मागेर नपाइने भन्दै हस्तक्षेप गरेर लिनु पर्ने बताउँदै उपप्रमुखहरूले आफ्नो अधिकार छाड्न नहुने बताइन ।

इन्सेक तथा निगरानी समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका साथसाथै पीडामा परेका व्यक्तिहरूलाई पनि न्यायका लागि सहयोग गर्दै आएकोमा धन्यवाद दिएकी थिइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले आफ्नो अधिकार के हो ? भन्ने विषयमा अभिमूखीकरण कार्यक्रमले स्पष्ट पारेको भन्दै निगरानी समूहले यस्ता सचेतना कार्यक्रम गाउँस्तरसम्म लैजान आग्रह गरे ।

कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी कसोधनले न्यायिक समितिहरूमा उजुरी पर्ने तर न्याय दिनका लागि समस्या हुने गरेको बताउँदै उजुरीप्रति कानुन अनुसार कारबाही अगाडि बढाउन समस्या रहेको बताइन् ।

मानव अधिकार र विकासको अवधारणा तथा जनप्रतिनिधिको काम कर्तव्य, अधिकार र न्यायिक समितिको अधिकार क्षेत्रको विषयमा राष्ट्रिय मानव अधिकार आयोग बुटवलका संरक्षण अधिकृत चन्द्रकान्त चापागाई र इन्सेक प्रतिनिधि नन्दराम पौडेलले सहजीकरण गरेका थिए ।

अन्य

भिडियो