INSEC Online

📅 २०८३ जेष्ठ २१

गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि आयोगको आग्रह

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै विभिन्न समयमा न्यायिक आन्दोलनमा लागेकी कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

अधिकारी हत्याका मुख्य आरोपित छविलाल पौडेललाई सर्वोच्च अदालतबाट ०७२ सालमा पुर्पक्षको लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन नभएको भन्दै पछिल्लोपटक ३० दिनदेखि आमरण अनसनमा बसेकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बन्दै आएको छ ।

‘यस सम्बन्धमा नीजको जीवन रक्षाको लागि आयोगबाट निरन्तर अनुगमन भएको छ । आयोग समेतको पहलमा २०७५ असार १३ गते साँझ गङ्गामाया अधिकारीले आइसियूमा भर्ना भई उपचार लिन स्वीकार गर्नुभएको छ ।’-आयोगद्वारा असार १४ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

‘वहाँले उठाउँदै आउनु भएको विषयको सुनुवाई नभएसम्म अनसन नतोड्ने बताएको र उक्त विषयहरू कानूनी शासन, दण्डहीनताको अवस्थासँग जोडिएको हुनाले माग सम्बोधन र मानव अधिकार रक्षाको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका लागि आज २०७५।३।१४ गते नेपाल सरकारका गृह सचिव प्रेम कुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई छलफलको लागि आयोगमा बोलाइएको थियो ।’-विज्ञप्तिमा भनिएको छ ।

उनीहरूसँगको छलफलका क्रममा क्रममा आयोगले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्न र कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको जनाएको छ ।

गृह सचिव र प्रहरी महानिरीक्षकबाट सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै रेर्डकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन गरिएको प्रयास र आयोग समक्ष विधिको शासन कायम राखी दण्डहीनताको अवस्था आउन नदिन अबिलम्ब पहल गरिने समेत प्रतिबद्धता व्यक्त गरिएको छ ।

अन्य

भिडियो