१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा-१० का २० वर्षीय दिपक रम्तेल सार्की विरूद्ध जेठ ३१ गते जिल्ला अदालतले ६ वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश मनोज केसीको इजलासले गरेको फैसला अनुसार कसुरदारलाई जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।
सार्कीविरूद्ध वैशाख २३ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतको आदेश अनुसार सोही दिनबाट आरोपित पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका थिए ।
पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै सोही दिन पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको सूचनाका आधारमा वैशाख ३ गते नै सार्कीलाई गिरफ्तार गरिएको र वैशाख ४ गते उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पतालमा गरिएको थियो ।