अम्वीकेश्वरी आधारभूत विद्यालय अमुवाका ४२ वर्षीय प्रधानाध्यापक गप्फार मियाँलाई शान्तिनगर गाउँपालिका-२ का ३९ वर्षीय वडाअध्यक्ष फर्साराम डाँगीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडितलाई वडाध्यक्षकै कार्यकक्षमा जेठ १६ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी नदिएको तर जेठ १८ गते शिक्षकहरूको साझा सङ्गठन शिक्षक महासङ्घमा न्यायका लागि लिखित निवेदन दिएको पीडितले जानकारी दिए ।
महासङ्घले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन जेठ १८ गते नै शिक्षक ओपेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
विद्यालयलाई थाहै नदिइ शिक्षा समितिले सहयोगी कार्यकर्ता विष्णु खड्कालाई अन्यत्र सरूवा गरेपछि बुझ्न वडा कार्यालय पुगेका मियाँलाई कुर्सीमा बसेकै अवस्थामा लात्तिले हानेर पल्टाएको र ढलेको अवस्थामा समेत थप एकपटक हानेको पीडितले बताए ।
अम्वीकेश्वरी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष डाँगीले तँ लाई किन सोध्नुपर्यो भन्दै हातपात गरेको पीडितले बताए ।