INSEC Online

📅 २०८३ जेष्ठ २१

नौ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

खाँडाचक्र नगरपालिकामा रहेका ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूले नेपाल सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता नौ महिनादेखि नपाएको गुनासो गरेका छन् ।

खाँडाचक्र नगरपालिकाका सहायक लेखापाल भिम पाण्डेका अनुसार खाँडाचक्रमा एकल महिला २ सय ७ जना, विधुवा महिला ४३ जना, अति अपाङ्गता भएका ४१ जना, ज्येष्ठ नागरिक ६० जना र सामाजिक सुरक्षा भत्ता पाउने बालबालिका ३ सय ५ जना रहेका छन् ।

पाण्डेका अुनसार नेपाल सरकारले एकल महिलालाई मासिक १ हजार रुपियाँ, विधुवा महिलालाई मासिक २ हजार रुपियाँ, अति अपाङ्गता भएका व्यक्तिलाई मासिक १ हजार रुपियाँ, ज्येष्ठ नागरिकलाई मासिक २ हजार रुपियाँ र बालबालिकालाई मासिक ४ सय रुपियाँ सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था छ ।

स्थानीय तहका वडा सचिव र कर्मचारी नहुँदा खाँडाचक्र नगरपालिकाका एकल, ज्येष्ठ नागरिक, विधुवा र बालबालिकाहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका हुन् । ११ वटा वडा रहेको खाँडाचक्र नगरपालिकामा १० महिना बितिसक्दा पनि भत्ता नपाएको खाँडाचक्र नपा–८ का ७० वर्षीय हरसिके परियारले गुनासो गरे ।

यसैगरी गएको भदौसम्म भत्ता पाएको र असोज महिनाबाट भत्ता नपाएको गुनासो सोही ठाउँकी ७२ वर्षीया एकल महिला धनकला मल्लले पनि गरेकी छन् । जिल्लाका स्थानीय तहमा वडा सचिव नहुँदा सामाजिक सुरक्षा वितरणलगायत अन्य विकास निर्माणका काममा वाधा पुगेको जिल्ला समन्वय समितिकी उपप्रमुख लक्ष्मी विष्ट बताउँछिन् ।

नगरपालिकामा एक जना पनि सचिव नहुँदा पहिलो चरणमा ०७४ भदौमा ६ सय ५६ जनालाई वडाध्यक्षमार्फत वितरण गरिएको र अध्यावधिकमा समस्या भएका कारण अहिले वितरणमा समस्या भएको खाँडाचक्र नगरपालिकाका लेखा अधिकृत देवकिरण बुढाले बताए ।

अन्य

भिडियो