INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकको कुटपिटका कारण एक विद्यार्थी घाइते

जनता माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रामधुनी नपा-४ का १३ वर्षीय निखिल चौधरीलाई सोही विद्यालयका सह-प्रधानाध्यापकले कुटपिट गरेका कारण गोलीगाँठो खुस्किएको भन्दै पीडित पक्षले विद्यालय घेराउ गरेको छ ।

पीडित पक्षसहित स्थानीयले जेठ १४ गते रामधुनी नपा-४ सिङ्गियास्थित जनता माध्यमिक विद्यालय घेराउ गरेका हुन् । उनीहरूले बालकको उपचार खर्च र क्षतिपूर्ति दिनसमेत माग गरेका छन् ।

Photo20180529Sunsari

घटनाको विरोधमा उत्रिएका अभिभावकले सत्यतथ्य छानबिन गरी विद्यार्थी कुट्ने सहप्रधानाध्यापक देवनारायण चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

छोराको गोडाको गोलीगाँठो खुस्किएको र उनलाई हिँडडुलमा समस्या भएको पीडितकी आमा बुधनी चौधरीले बताइन् ।

सुरूमा बालकले घटना लुकाएर राखेको र पछि दुखाई बढेपछि गोडाको गोलीगाँठो खुस्किएर घाइते भएको थाहा पाएको आमा बुधनीको भनाई छ ।

विद्यालय बाहिर झगडा गरेको भन्दै जेठ ११ गते सहप्रधानाध्यापक देवनारायणले बाँसको भाटाले कुटपिट गरेको पीडित बालकले बताए । उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरी गोडामा  प्लास्टर गरिएको छ ।

सहप्रधानाध्यापक चौधरीले पहिलेदेखि नै विद्यार्थीलाई यसरी नै कुटपिट गर्ने गरेको स्थानीय रामसिंह चौधरीले बताए ।

आरोपित सहप्रधानाध्यापक चौधरीले शिक्षण पेशमा लागेको ३० वर्षभएको र यो घटना मात्र दुःखदायी भएको बताए । उनले विद्यार्थीलाई तर्साउन खोज्दा दुर्घटना हुन गएको बताए ।

अन्य

भिडियो