INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा शारीरिक दण्ड सजाय, प्रशासनले बनायो अनुसन्धान समिति

मधुवन नपा-९ स्थित धर्मज्योती माविको कक्षा सातमा अध्यनरत आठ जना विद्यार्थीलाई प्रश्नको उत्तर नजानेको आरोपमा सोही विद्यालयका शिक्षक २१ वर्षीय सुदर्शन सिग्देलले शारीरिक दण्ड सजाय दिएको घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जेठ १३ गते अनुसन्धान समिति बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सो घटनामा आफ्नो ध्यानाकर्षण भएको बताए । जिल्ला शिक्षा विकास तथा समन्वय समितिका प्रमुख निलकण्ठ रेग्मीको संयोजकत्वमा घटना अनुसन्धानका लागि समिति बनाइएको प्रजिअ कुरुम्बाङ्ले जानकारी दिए ।

समितिले पेश गरेको प्रतिवेदन र अन्य सरोकारवालासँग थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने उनले आश्वासन दिए । समितिमा महिला तथा बालबालिका कार्यालयकी प्रमुख गिरा बस्नेत, जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत डिल्लीराज आचार्य र नेपाल बार एशोसियसनका उपाध्यक्ष खडानन्द तिवारी रहेका छन् ।

लेखापाल तथा कम्प्यूटर शिक्षक सुदर्शन सिग्देलले प्रश्नको उत्तर नजानेको आरोपमा मधुवन नपा-९ घरभई सोही विद्यालयको कक्षा सातमा अध्यनरत १३ वर्षीया स्वस्तिका कार्की, १२ वर्षीय मानव विष्ट, १३ वर्षीय सोनाम तामाङ, १४ वर्षीय सागर नेपाली, १४ वर्षीय सन्तोष बिक, १३ वर्षीय भुवन खत्री, १३ वर्षीया होमकुमारी भुसाल र १२ वर्षीया करुणा तामाङलाई जेठ १ गते कान समातेर उठबस गर्न लगाई शारीरिक दण्ड सजाय दिएको आरोप छ । आफूहरूले कम्प्यूटर विषयमा सोधिएको प्रश्न भन्न नसकेपछि १२ देखि २० पटकसम्म कान समातेर उठबस गर्न लगाएको पीडित विद्यार्थी मानव विष्टले बताए ।

घटनामा पीडित स्वस्तिका कार्की बिरामी परेर अस्पताल भर्ना भएपछि मात्रै घटना ढिला गरी बाहिर आएको हो । बालिकाका अभिभावकले बालिका मुटुसम्बन्धी दिर्घरोगी भएपनि शिक्षकले यातना दिएकै कारण प्रेसर बढेर अशक्त अवस्थामा पुगेको दावी गर्दै आएका छन् । बालिकालाई कक्षा कोठाको पछाडि बसेर चाउचाउ खाँदै हल्ला गरेको भन्दै शिक्षक सिग्देलले दुई थप्पड हिर्काएको र प्रश्नको उत्तर नजानेपछि उठबस गर्न लगाएको आफूसँग स्वीकार गरेको बालिकाकी हजुरआमा निलकुमारी कार्कीले बताइन् ।

शिक्षक सिग्देलले स्वस्तिकालगायत विद्यार्थीलाई उठबस गराएको स्वीकार गरे । उनले भने-‘राम्रोको लागि गरेको हो । गल्ती भयो ।’

‘यातना दिँदा अन्य बालबालिकालाई केही भएको जस्तो नदेखिए पनि स्वस्तिका भने कान समातेर १२ पटकसम्म उठबस गर्दैगर्दा थरथर कामेकी थिइन् ।’-सोही कक्षामा अध्ययनरत सोनाम तामाङले भनिन्-‘सरले त्यसपछि नगर्न भनेपनि डरले २० पटक उठबस गरेकी थिइन् ।’

उनलाई घरबाट करिब ५ सय मिटर टाढा रहेको विद्यालय जाँदा स्यास्या हुने गरेकाले ठाउँठाउँमा रोकिँदै आउने जाने गर्नुपर्ने सहपाठीहरू बताउँछन् । उनले नियमित रुपमा मुटु रोगसम्बन्धी औषधि सेवन गर्दै आएकी थिइन् ।

यातना दिने शिक्षकलाई कारबाही तथा बालिकाको उपचारका लागि आर्थिक सहयोग गरिदिन बालिकाका हजुरबुवा भिमबहादुर कार्कीले विद्यालय प्रशासनलाई जेठ ७ गते निवेदन दिएका छन् ।

विद्यालयले बालिकालाई उपचार खर्चका लागि जेठ ८ गते १ लाख रुपियाँ उपलब्ध गराई जेठ ९ गते समितिबाट अनुमोदन गराएको छ । उक्त रकम शिक्षकले यातना दिएको कारण उपचार गर्न नदिएको र सो रकम मानवीयताको आधारमा उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कप्रसाद पौडेलले बताए ।

पीडित बालिकाको उपचार बर्दिया जिल्ला अस्पताल गुलरिया र नेपालगञ्जमा गरिएको भएपनि सुधार हुन नसकेपछि थप उपचार काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अपस्तालको आईसीयूमा कक्षमा राखेर थप उपचार भइरहेको पीडित परिवारले जनाएको छ ।

अन्य

भिडियो