जिल्ला अस्पताल रोल्पामा दुई हप्तादेखि एक्सरे सेवा अवरूद्ध हुँदा एक्सरे सेवा लिनु पर्ने बिरामी दाङ, प्यूठान र नेपालगञ्ज जानु पर्ने बाध्यता भएको पीडित पक्षको गुनासो छ ।
जिल्लाको एक मात्र एक्सरे सेवा दुई हप्तादेखि बन्द हुँदा एक्सरे गर्नु पर्ने बिरामीहरू बाहिरी जिल्ला जानु परेको हो । छातिको एक्सरे गर्नु पर्ने बिरामी रोल्पा नपा-४ का शङ्कर भण्डारीले एक्सरे सेवा नपाएपछि दाङ गएको गुनासो गरे । उनले भने-‘जिल्ला अस्पतालको एक्सरेको बाटो हेरेर एक हप्ता बसेँ । नभएपछि दाङ गएँ ।’
यस्तै गुनासो माडी गाउँपालिकाका ७३ वर्षीय दिलबहादुर बिकको पनि छ । दिलबहादुर भन्छन्-‘छातिको एक्सरे गर्न अस्पताल आएको चार दिन भयो । एक्सरे भएको छैन । दैनिक अस्पताल आउने र जाने गरेको छु । स्वास्थ्यकर्मीले एक्सरे गर्न बत्ति छैन भन्छन् ।’-उनले भने-‘आर्थिक अवस्था बलियो भएका बिरामी त बाहिरी जिल्ला गइसके आर्थिक अवस्था कमजोर भएका म जस्तै बिरामी अस्पतालको बाटो कुरेर बसेका छौँ ।’-बिकले गुनासो गरे ।
जिल्ला अस्पतालका डा. प्रकाशबहादुर बुढाले भने-‘लो भोल्टेजका कारण एक्सरे सेवा बन्द भएको हो । यस विषयमा पटकपटक विद्युत प्राधिकरणमा जानकारी गराउँदा कुनै चासो नदिएपछि प्रमुख जिल्ला अधिकारी र मेयरलाई भनेका छौँ ।’
अब केहि दिनमै समस्याको दिर्घकालीन समाधान हुने उनको भनाई छ । दैनिक २०-२५ जनाको एक्सरे गर्नुपर्ने अस्पतालले जनाएको छ । कति बिरामी त कुर्दाकुर्दा हैरान भएपछि बिल फिर्ता गरेर अन्यत्र जाने गरेको अस्पताल प्रशासनको भनाई छ ।
लाइन लाएर एक्सरे सेवाका लागि बसेका बिरामी रिसाएर झगडा गर्ने गरेको जिल्ला अस्पतालका रेडियोग्राफर उमेश बुढामगरले बताए ।