INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा हिरासतमा यातना दिएको पीडित पक्षको आरोप

कन्काई नपा-४ का ४३ वर्षीय ठाकुरप्रसाद सङ्ग्रौलालाई शिवसताक्षी नपा माईधार क्षेत्रमा चोरी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । दुई दिन प्रहरी हिरासतमा रहेका सङ्ग्रौलाको शरीरभरी निलडाम र कुटपिटको चोट देखिएको छ ।

Photo20180524Jhapa

भेट्टाएको मोवाइललाई आधार मानी चोरीको आरोपमा मुद्दा लगाई शरीरभरी निलडाम हुने गरी कुटपिट तथा यातना दिएको पीडितकी पत्नी यशोदामाया सङ्ग्रौलाले बताइन् ।

गत वैशाख २४ गते माईधार क्षेत्रका दुई वटा घरमा चोरी भएको र सो घटनामा ठाकुरप्रसादको संलग्नता रहेको आरोपमा इलाका प्रहरी कार्यालय झिलझिलेले जेठ ५ गते आरोपितलाई गिरफ्तार गरी सोपश्चात हिरासतमा मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

चोरी भएको भोलिपल्ट वैशाख २५ गते खेतमा काम गर्न जाँदा ठाकुरप्रसादले मोवाइल भेट्टाएको बताए । त्यही मोवाइलमा प्रहरीले गरेको फोन उठाएपछि ठाकुरप्रसादलाई चोरीको घटनामा संलग्नता रहेको भन्दै प्रहरीले गिरफ्तार गरेको थियो ।

जेठ ७ गते साँझसम्म यातना दिएर पतिलाई राखेको पत्नी यसोदामायाले आरोप लगाइन् । पतिको अवस्था बुझ्न जाँदा शरीर तथा गोडामा निलडाम देखेपछि प्रहरीलाई अनुरोध गरी पीडितलाई घर ल्याएको यसोदामायाले बताइन् ।

प्रहरीले हिरासतमा राखेर पानी छम्कँदै प्लाष्टिकको पाइपले शरीरभर जताततै कुटपिट गरेको र चोरीका बारेमा आफूलाई थाहा नभएको भन्दा अपशब्द प्रयोग गर्दै मरणासन्न हुनेगरी कुटपिट गरेको पीडितले बताए ।

पीडितको गोडा, पैताला तथा शरीरका अन्य भागमा निलडाम र कुटपिटबाट चोट देखिएका पीडितको अहिले विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

झिलझिले प्रहरी चौकीका इञ्चार्ज कैलाश राईले चोरीको घटनाका बारेमा अनुसन्धानका लागि ठाकुरप्रसादलाई हिरासतमा राखिएको तर कुटपिट नगरेको बताए ।

इर्ञ्चाज राईले घटना सामान्य भएको र सङ्ग्रौला परिवार र प्रहरीबीच छलफल भई कुनै प्रहरीबाट गल्ती भएको भए अनुसन्धान गरी कारबाही गरिने शर्तमा कुरा मिलेको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुबहादुर केसीले प्रहरीको कुटपीटबाट एक व्यक्ति घाइते भएको भन्ने कुरा जानकारी प्राप्त भए पश्चात घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

अन्य

भिडियो