समाचार प्रकाशन/प्रशारण गरेको विषयमा चित्त नबुझेपछि सिमकोट गाउँपालिका-२ का ३६ वर्षीय पत्रकार मिमसिंह नेपालीलाई जेठ ८ गते अपरिचित व्यक्तिले मोबाइलमार्फत ज्यान मार्ने धम्की दिएका छन् ।
सिमकोट गाउँपालिका-४ बुराउँसे गाउँका २७ वर्षीय गोपाल चक्र लामाले ताजाकोट गाउँपालिका-७ र साविकको मैला, मदना गाविसको सामाजिक सुरक्षा भत्ता र वडा कार्यालयको विनियोजित बजेट हिनामिना गरेको आरोपमा हुम्ला जिल्ला प्रहरी कार्यलयद्वारा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँमा पठाएको समचार प्रकाशन गरेको भन्दै राजदानी दैनिकका जिल्ला सम्वाददाता, रेडियो कर्णाली आवाजका समचार संयोजक एवम् पत्रकार माहासङ्घ हुम्लाका उपाध्यक्ष नेपालीलाई ९८४८३०९०४६ नम्बरबाट धम्की आएको पत्रकार महासङ्घ हुम्लाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा प्रहरीले जेठ ५ गते लामालाई गिरफ्तार गरेको समचार राजदानी दैनिक पत्रिकामा जेठ ८ गते प्रकाशन भएको थियो ।
सो समाचार प्रकाशन तथा प्रशारण किन गरेको भन्दै पत्रकार नेपालीलाई लामाका आफन्तले प्रत्यक्ष रूपमा नभेटी फोनबाट ‘तँ डुम जातीको मान्छे होस् । आफ्नो औकातमा बसेर काम गर । नत्र तेरो हातगोडा भाँचेर मारदिन्छु ।’ भन्दै धम्की दिएको पत्रकार नेपालीले बताए ।
लामाका आफन्तले धम्क्याएको भन्दै पत्रकार महासङ्घले आपत्ति जनाउँदै सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले भने-‘लामाले गरेको सम्पुर्ण हिनामिना गरेको भत्ता सत्य हो । नभएको कुरा लेखेकै छैन ।’-उनले भने-‘धम्क्याएमा धम्की दिने व्यक्तिहरूलाई अनुसन्धान गरी पत्ता लगाएर कारबाही गरेरै छाड्छौँ ।’