INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापकविरूद्ध उजुरी

विद्यार्थीलाई कुटपिट गरी मानव मुत्र (पिसाव) खुवाएर यातना दिएको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिका धोवीस्थित झट्टेश्वर माविका प्रधानाध्यापक ४७ वर्षीय केबलबहादुर तिमिल्सिनाविरूद्ध पीडित विद्यार्थीहरूले जेठ ४ गते इलाका प्रहरी कार्यालय धोवीमा उजुरी दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार लिखु तामाकोसी गाउँपालिका-४ निवासी प्रधानाध्यापक तिमिल्सिनाले कक्षा सातमा अध्ययनरत १३ वर्षीय बुद्ध तामाङ र १४ वर्षीय लाक्पा तामाङलाई जेठ १ गते निर्घात कुटपिट गरी पिसाव पिलाएका थिए ।

प्रधानाध्यापक तिमिल्सिनाले आफूले उत्सृङ्खल गतिविधि गर्ने विद्यार्थीहरूलाई सामान्य कारबाही गरेको बताए । जेठ १ गते कक्षा सातमा अध्ययनरत विद्यार्थीहरू वुद्ध तामाङ, लाक्पा तामाङ र गणेश बुढाथोकी मिलेर आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाव र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आएपछि कारबाही स्वरुप खुवाउने विद्यार्थीहरूलाई पनि त्यहि ‘पानी’ पिउन दिएको र खान नमानेपछि पाइपको टुक्राले सामान्य कुटपिट गरेको प्रधानाध्यापक तिमिल्सिनाले बताए ।

कारबाहीको क्रममा बोतलको पानी वुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमानेपछि मात्र उक्त बोतलमा पिसाव नै भएको विद्यार्थीले स्वीकारेको उनले बताए ।

प्रधानाध्यापक तिमिल्सिनाले कक्षा नौमा अध्ययनरत ममिता तामाङलाई जेठ २ गते आफ्नै साथीसँग झगडा गरेको भन्दै निर्घात कुटपिट गरेको आरोप छ । विद्यार्थी ममिता तामाङ गाँजा खाएर विद्यालय पढ्न आउने र साथीहरूसँग झैझगडा मात्र गर्ने गरेको भन्दै कपाल समातेर गालामा पाँच थप्पड हानेको प्रधानाध्यापक तिमिल्सिनाले स्वीकार गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिले जेठ ४ गते छलफलका लागि बैठक डाकेको र प्रधानध्यापक बैठकमा नआएपछि बहुमतको आधारमा विद्यालय शिक्षकहरूको सहभागितामै प्रधानाध्यापक पदबाट हटाइएको गाउँपालिकाका अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार अब प्रहरी प्रशासनमा संयुक्त उजुरी दिने र आवश्यक कारबाहीका लागि सिफारिस गरिने बताए ।

प्रधानाध्यापक तिमिल्सिनाले आफुलाई विद्यालय ब्यवस्थापन समितिको बैठकको बारेमा केही थाहा नभएको र गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षसँग राम्रो सम्बन्ध नरहेकै कारण घटनालाई तोडमोड गरेर आफूलाई हटाउन खोजेको आरोप लगाए । यस घटनालाई छानबिन गर्न आजै विद्यालय निरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

अन्य

भिडियो