यार्सा सङ्कलनका लागि अभिभावकसँग बालबालिका गएपछि डोल्पाका १ सय १२ वटा विद्यालय जेठ १ गतेदेखि बन्द भएका छन् । जिल्लामा ८६ प्रावि, १४ निमावि, १५ मावि र पाँच उमावि रहेका छन् ।
डोल्पालीको मुख्य आम्दानीको स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्र खुल्ला भएपछि अधिकांश विद्यालय बन्द भएका हुन । सानासाना बालबालिका पनि यार्सा सङ्कलनका लागि पाटन गएपछि विद्यालय बन्द गर्नु परेको शिक्षक रतन बुढा बताउँछन् ।
बुढापाकाभन्दा पनि बालबालिकाले धेरै यार्सागुम्बा सङ्कलन गर्ने भएकाले अभिभावकले बालबालिकालाई आफूसँगै लैजाने गरेको स्थानीय धनलक्ष्मी बोहोराले बताइन । उनले भनिन्-‘बालबालिकाको पढाइ त बिग्रन्छ तर एक वर्षको खर्च बालबालिकाले नै यार्सा टिपेर कमाउँछन् ।’
बालबालिकाले यार्सागुम्बा धेरै टिप्न सक्ने भएकालेसँगै लिएर आउने गरेको पदमावती बोहोराले बताइन् । उनले भनिन्-‘आम्दीनको स्रोत केही नभएपछि बाध्य भएर केटाकेटीलाई सँगै ल्याउनुपरेको हो ।’ प्रति गोटा यार्सागुम्बाको ५ सयदेखि १ हजार रुपियाँसम्ममा खरिद विक्री हुन्छ ।
यार्सा सङ्कलन क्षेत्रमा घुम्ती विद्यालय
उच्च हिमाली क्षेत्रमा पर्ने यार्सा पाटनमा डोल्पाका बालबालिकाका लागि घुम्ती विद्यालय सुरू भएको छ । सरकारको घुम्ती विद्यालय सञ्चालन अनुदान कार्यक्रममार्फत यस वर्ष डोल्पाका ६ वटा यार्सागुम्बा पाटनमा घुम्ती विद्यालय सञ्चालन गरेको हो ।
अभिभावकसँगै यार्सागुम्बा सङ्कलन गर्न यार्सा पाटन पुगेका विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्नका लागि यहाँको जगदुल्लाको पाँगा लेकमा मुनामदन आधारभुत विद्यालय छाँचु, रहको माटेलेकमा शुभकामना आधारभुत विद्यालय रह, विद्यामन्दिर माध्यमिक विद्यालयले माझफालको साईकुमारी, लक्ष्मी माध्यमिक विद्यालयले थरगाँउको बागडाँडा र तरपरे लेक, अरनिको माविले शहरताराको स्यालापाखा लेकमा घुम्ती विद्यालय सञ्चालन गर्ने गरी घुम्ती विद्यालय सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
उक्त कार्यक्रम अन्तर्गत घुम्ती विद्यालयमा पढन आउने विद्यार्थीका लागि किताब, कापी, कलम र खाजाको व्यवस्थासमेत गरिएको छ ।
करिब डेढ महिनासम्म सञ्चालन गरिने घुम्ती विद्यालयमा एउटा कक्षाका लागि तीन जना शिक्षक र एक प्रधानाध्यापक संयोजक रहने गरी जनशक्ति व्यवस्थापन गरिएको अधिकृत डाँगीले बताए ।
घुम्ती विद्यालयमा पढ्न आउने विद्यार्थीलाई पाठ्यक्रम अनुसार आधारभुत र माध्यमिक तहको शिक्षण गरिने डाँगीको भनाई छ ।
डोल्पामा विगतका वर्षमा विभिन्न यार्सागुम्बा पाटनमा सञ्चालन भएका घुम्ती विद्यालय कार्यक्रम सफल भएकाले यसवर्षपनि उक्त कार्यक्रम लागु गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । हिमाली यार्सा पाटनमा अध्यापन गराए बापत एक शिक्षकले २० हजार रुपियाँका दरले तलब पाउनेछन् ।