मानसरोवर माध्यामिक विद्यालयको लापरबाहीका कारण यस वर्षको कक्षा ११ को परीक्षा दिन नपाएको परीक्षार्थीहरूले आरोप लगाएका छन् ।
विद्यार्थीले विद्यालयमा गएर परीक्षा भर्ना शुल्क, लाइब्रेरी शुल्क, खेलकुद शुल्क, रजिष्टेशन फारम शुल्क बुझाएको भए पनि, रजिष्टेशन फारम नभरेको भन्दै पाँच जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित बन्चित गराएको परीक्षार्थी सुनमति शाहीले गुनासो गरेकी हुन ।
परीक्षाको सम्पूर्ण फारम भरि सकेपछि अन्य काम शिक्षक तथा विद्यालय प्रशासनले गर्नु पर्ने हो हामीले गर्ने सबै काम गरि सकेको अर्का विद्यार्थी श्यामकमी रोकायले गुनासो गरिन । आफुले विद्यालयमा पुगेर सबै शुल्क तिरेको रसिद देखाउँदै उनले भनिन् “सबै शुल्क तिरेको भए पनि रजिष्टेशन फारम केन्द्रमा नपठाएकाले परीक्षा दिनबाट विद्यालयले बन्चित गरायो ।”
एक वर्षसम्म परीक्षाको तयरी गरी वैशाख ३० गते परिक्षा दिन जाँदा आफ्नो प्रवेश पत्र नआएको भन्दै परीक्षामा प्रवेश गर्न नदिएको भन्दै आँखाभरि आँशु झार्दै रोकायले इन्सेक जिल्ला प्रतिनिधिसँग दुख व्यक्त गरिन । त्यस्तै धर्मजित ऐडी र देवकी परियार लगायत पाँच जना विद्यार्थीलाई विद्यालयले परीक्षा दिनबाट बन्चित गराएको छ ।
हामी पाँच जनाको फारम विद्यालयले केन्द्रमा नपठाएका कारण परीक्षा दिन नपाएको परीक्षार्थीले जनाएका छन् । विद्यालयमा बुझन जादा उल्टै कर्मचारीले अब तिमिहरूले परीक्षा दिनै पाउँदैनौ भन्दै धम्काएको विद्यार्थी धर्मजित ऐडीले गुनासो गरे ।
विद्यालयका प्रद्यानध्यापक अमर बहादुर शाहीका अनुसार विद्यार्थीले भर्ना मात्र गरेको र रजिष्टेशन फारम भर्न विद्यार्थी नआएकाले परीक्षा दिन नपाएको दाबी गरेका छन् । परीक्षार्थीलाई दिएको विल रसिदमा भने लेखा प्रमुखले हस्ताक्षर गरी सबै शुल्क बुझेको विल तथा रसिद विद्यार्थीसँग रहेको छ ।
परीक्षार्थीले फारम भरेको भएपनि कर्मचारी र विद्यालयको भुलचुकका कारण फारम नगएकाले परीक्षा दिन नपाएको उक्त विद्यालयका शिक्षक बालमन्दिरे रोकायले बताए । उनले भने अब अर्को वर्षबाट यस्तो समस्या हुन नदिने गरी काम गर्नेछौ ।