जुम्लाको पूर्वी क्षेत्र पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा सङ्कलनका लागि लेकतिर गएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्ने समय सरू भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएपछि यार्सा सङ्कलनका लागि बालबालिका पनि अभिभावकसँग लेकतिर जाँदा विद्यालय सुनसान भएका हुन् ।

पातारासी गाउँपालिकामा अध्यनरत विद्यालयका बालबालिका डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा सङ्कलन क्षेत्रतिर गएको सरस्वती मावि पेरे खालाढिकका प्रधानाध्यापक बासुदेव शाहले बताए ।
उनले भने-‘यार्सा सङ्कलनको समयमा दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन ।’ यार्सा सङ्कलनको मौसममा विद्यालयमा विद्यार्थी आउन छाडेको एक दशक भएको र यसले एसर्इई परीक्षामा समेत असर पर्ने गरेको प्रधानाध्यापक शाहले बताए ।
सबै विद्यार्थी जिविकोपार्जनका लागि यार्सा सङ्कलन क्षेत्रतिर गएपछि विद्यालय सुनसान जस्तै भएको उनले बताए । ‘विशेष गरी निमावि र मावि स्तरमा पढने विद्यार्थी सबै लेकतिर गएपछि हामी शिक्षक काम विहिन भएको छौँ ।’-उनले भने ।

अहिले कक्षा सातमा १७ जनामध्ये दुई जना आउने गरेका छन् । त्यसैगरी कक्षा आठमा २० जनामध्ये एक जना र कक्षा ९ मा ४१ जनामध्ये एक जना मात्रै कक्षामा पढ्न आउने गरेको शिक्षक जयसिंह सार्कीले बताए । उनले भने-‘कक्षा १० का सबै विद्यार्थी यार्सा सङ्कलनका लागि लेकतिर गए साना साना विद्यार्थी मात्रै विद्यालय आउने गरेका छन् ।’
‘दुई महिना त निमावि र माविको पढाई नै बन्द हुन्छ पछि पाठयक्रम सम्पन्न गर्न निकै मुस्किल हुन्छ बिहान बेलुका गरेर कोर्ष सम्पन्न गरी मङ्सिरमा अन्तिम परीक्षा लिने गरेका छौँ ।’-प्रधानाध्यापक शाहले भने-‘यस क्षेत्रको जिविकोपार्जनको मुख्य स्रोत भनेको यहि यार्सा सङ्कलन भएकाले हामीले विद्यार्थीलाई बाहिर नजानका लागि कडाइका साथ रोक्न पनि सकेका छैनौँ ।’ यस पातारासी गाउँपालिकामा पाँच वटा मावि, २० वटा निमावि र ६ वटा प्रावि रहेका छन् ।
पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराका अनुसार यस क्षेत्रका विद्यार्थी पढाइ छोडेर यार्सा सङ्कलनका लागि लेकतिर जाने गरेकाले पढाइ प्रभावित हुाने गरेको छ । उनले भने-‘यसले बालबालिकाको पठनपाठनमा बाधा पुर्याएको हामीले बुझेका छौँ । आगामी वर्षमा विद्यार्थीलाई बाहिर जान नदिनका लागि केही वैकल्पिक उपायको खोजी गर्छौँ ।’