INSEC Online

📅 २०८३ जेष्ठ २१

डेढ महिनादेखि विद्यालयमा पठनपाठन नभएको अभिभावकको गुनासो

खार्पुनाथ गाउँपालिका-२ थालीस्थित शङ्कर निम्न माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकको लापरवाहीले डेढ महिनादेखि पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् ।

वैकल्पिक व्यवस्था नगरी नयाँ भवन बनाउने भन्दै पुरानो भवन विद्यालय व्यवस्थापन समितिले भत्काएपछि बालबालिकाको पठनपाठन चैत २० गतेदेखि प्रभावित भएको अभिभावक राजु रावलले गुनासो गरेका हुन् । उक्त विद्यालयमा २ सय ५० जना बालबालिका अध्ययनरत छन् ।

अभिभावक रावलले भने-‘हुम्लामा शैक्षिक सत्र फागुनको पहिलो हप्ताबाट सुरू हुने भएकाले वर्षातको समयमा भवन निर्माण गर्नु भन्दा विद्यालय विदाको समय वा हिउँदे समयमा बनाउनु पर्ने थियो ।’

विद्यालय सञ्चालन भएको समयमा उक्त भवन भत्काएपछि यहाँका केही बालबालिका करिब तीन घण्टा पैदल हिँडेर मालिका मावि लाली र हुम्ला मावि रायामा पठनपाठन गर्न जानु परेको स्थानीयबासी बाली रावलले गुनासो गरे ।

पाँच कक्षा मुनीका बालबालिकालाई सोही विद्यालयमा पठनपाठन गर्ने भनेता पनि यस समयमा शिक्षक नै विद्यालयमा उपस्थित नहुँदा अन्य विद्यालयमा गएर पठनपाठन गर्न बाध्य भएको स्थानीयबासी राजेन्द्र परियारले बताए ।

सो विद्यालयका प्रद्यानध्यापक विर्ष छत्यालका अनुसार कक्षा पाँच देखि आठ सम्मका बालबालिका मालिका र हुम्ला माविमा अध्ययन गर्न जान्छन तर पाँच कक्षा मुनीका बालबालिका भने सोही विद्यालयको खुल्ला आकाश मुनी पठनपाठन गरिरहेका छन् । उक्त विद्यालयमा चार जना दरबन्दी र दुई जना बालविकासका शिक्षक रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण रावलका अनुसार हुम्ला मावि राया र मालिका मावि लालीका दुई वटै प्रधानाध्यापकसँग कक्षा ५ देखि ८ सम्मका विद्यार्थीलाई पठनपाठनमा सहजता गराइदिनका लागि अनुरोध गरिएको छ ।

अन्य

भिडियो