INSEC Online

📅 २०८३ जेष्ठ २१

मेयर श्रेष्ठमाथि आक्रमण भएको एक महिनापछि घटनाका आरोपित गिरफ्तार

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्न योजना बनाएको आरोपमा प्रहरीले झण्डै एक महिनापछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कुशल बोगटीलाई जेठ १ गते  गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका रुप्सा घर भई हाल भक्तपुर सल्लाघरीमा बस्दै आएका ३० वर्षीय कुशल बोगटीलाई काठमाडौँको बागबजारबाट गिरफ्तार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

मध्यपुर थिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठलाई रड प्रहार गरी घाइते बनाउने मुख्य योजनाकार नेकपाका कार्यकर्ता बोगटीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

वैशाख ८ गते एक समूहले श्रेष्ठलाई रड प्रहार गरी घाइते बनाउनुका साथै उनको निजी कार समेत तोडफोड गरेका थिए ।

भक्तपुर प्रहरीले वैशाख १२ गते नै घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई गिरफ्तार गरेको जानकारी गराएपनि उनीहरूको विवरण अझै सार्वजनिक गरेको छैन ।

अन्य

भिडियो