खजुरा गाउँपालिकास्थित मनकामना चोक र बैजनाथ गाउँपालिका जि गाउँमा रहेको एनसेलको टावरमा वैशाख २९ गते राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटर पूर्ण रूपमा क्षति भएका छन् ।
अज्ञात समूहले आगजनी गरेपछि तत्काल स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रण गरेको थियो । घटनास्थलबाट करिब ३ सय मिटरको दुरीमा रहेको बैजनाथ गाउँपालिका-६ बाट प्रहरीले भे २ प ६३८ नम्बरको मोटरसाइकल र एक थान साइकल बरामद गरेको जनाएको छ ।
घटनाको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सकुल, बाँके-बर्दिया इञ्चार्ज लोकेश र केन्द्रीय सदस्य आयुषलाई बर्दिया जाने क्रममा गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।