३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वैशाख २७ गते फिदिम नपा-१ का १८ वर्षीय जयन्द्र तामाङ र सोही ठाउँका १९ वर्षीय समिर केरुङविरुद्ध जिल्ला अदालतले जनही १० वर्षकैदको फैसला गरेको छ ।
न्यायाधीश मनोज केसीको इजलासले आरोपितविरुद्ध सो फैसला गरेको हो । आरोपितहरूविरुद्ध मुलुकी ऐनको महल १४ को जबरजस्ती करणीको ३, ५ अनुसार पाँच वर्ष र सामूहिक बलात्कार गरेकाले ३ क अनुसार थप पाँच वर्षगरी जनही १० वर्षकैदको फैसला गरिएको अदालतले जनाएको छ । यसैगरी, पीडितलाई आरोपितहरूबाट जनही २० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत केसीको इजलासले फैसला गरेको छ ।
पीडितको उजुरी अनुसार ०६९ मा आरोपितहरू विरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । आरोपितहरू फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको थियो ।
प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरेपछि ०७४ माघ ११ गते मुद्दा दायर गरेको थियो । केसी इजलासको फैसला अनुसार आरोपितद्वयलाई कैद भूक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन लिम्बूले जानकारी दिए ।