पत्नी हत्या घटनाका आरोपित गेरुवा गाउँपालिका-४ खोनपुरका ३० वर्षीय दर्नबहादुर कटुवाललाई प्रहरीले वैशाख २५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।
परपुरूषसँग लागेको आशङ्कामा ३० वर्षीया पत्नी रेशमकला रोकायालाई हत्या गरी फरार कटवाललाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको कपनबाट गिरफ्तार गरेको महाशाखाका असई मोहन आलेले जानकारी दिए ।
काठमाडौँ तास्मीपाखास्थित डेरामा सुतिरहेका अवस्थामा वैशाख २५ गते बिहान टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुतिरहेको अवस्थामा रडले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा कटुवाललाई थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दर्नबहादुरको पहिलेदेखि नै मानसिक सन्तुलन ठिक नभएको र सोही कारणले घटना भएको हुन सक्ने आरोपितका दाजु गोरखबहादुर कटुवालले बताए ।
बर्दियामा स्थायी घर भएका उनीहरू हाल काठमाडौँको तास्मीपाखास्थित डेरामा बस्दै आएका थिए । पोष्टमार्टमका लागि त्रिविवि टिचिङ अस्पतालमा शव लगेर राखिएको मृतकका देवर नरबहादुर कटुवालले बताए । माइती पक्ष अस्पतालमा पुगेपछि पोष्टमार्टम गर्ने तयारी भइरहेको नरबहादुरले जनाए ।