सशस्त्र द्वन्द्वको क्रममा अङ्गभङ्ग भएका कोहलपुर नपा-२ का ५७ वर्षीय इन्द्रबहादुर बिकलाई थप उपचार तथा राहत प्रक्रियामा जानका लागि इन्सेक नेपालगञ्जले वैशाख २० गते आर्थिक सहयोग गरेको छ ।
पीडितलाई उपचारका लागि १० हजार रुपियाँ सहयोग गरिएको इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले बताए ।

०५८ माघ १६ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) पार्टीका कार्यकर्ताको कुटपिटबाट इन्द्रबहादुरको अङ्गभङ्ग भएको र हालसम्म राहत नपाएको भन्दै उनले ०७५ वैशाख ३ गते इन्सेकलाई बोधार्थ दिई जिल्ला प्रशासन कार्यालय, बाँकेमा आवश्यक सहयोग गरी पाउँ भनि निवेदन दिएका थिए ।
देब्रे गोडामा दुई ठाउँमा भाँचिएका पीडितलाई उठ्न बस्न समस्या हुने गरेको र शल्यक्रिया गरेको ठाउँमा दुख्ने समस्या रहेको उनले बताए ।
हाल उनी हातको साहाराले उठबस गर्ने गरेका छन् । आर्थिक अभावका कारण वैशाखी नभएको पीडितले बताएपछि इन्सेकले वैशाखी उपलब्ध गराइदिन नेपालगञ्ज मेडिकल कलेजसँग अनुरोध गरेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका पीडितले थप उपचारमा समस्या भएको भन्दै आवश्यक पहलका लागि इन्सेकलाई अनुरोध गरेका थिए ।
पीडितको थप उपचारका लागि इन्सेकले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा वैशाख १९ गते सिफरिस गरिएको इन्सेकका संयोजक महतले बताए ।
इन्सेकको सिफारिस अनुसार पीडितको गोडाको एक्सरे तथा अन्य आवश्यक स्वास्थ्य परीक्षण गरी औषधि उपचारमा सहयोग गरिएको भेरी अञ्चल अस्पताल नेपालगञ्जका डक्टर प्रकाशबहादुर थापाले बताए । पीडितले हालसम्म राज्यबाट कुनै पनि किसिमको राहत नपाएको बताए ।