गौमुल गाउँपालिका-४ मानाकोटमा रहेको किर्तिचौर माविका २ सय ५० छात्राहरू मध्ये ५० जना छात्राहरू विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् ।
महिनावारी भएको समयमा विद्यालय जान नहुने भन्ने अन्धविश्वासका कारण उनीहरू वर्षको करिब ६० दिन पठनपाठनबाट वञ्चित हुनु परेको हो ।
अशिक्षा अन्धविश्वासका साथै धार्मिक मान्यताले पढाइबाट वञ्चित हुनुपरेको किर्तिचौर माविमा अध्ययनरत छात्रा नन्दाकुमारी जोशीले गुनासो गरिन् । विद्यालय नजिकै देवताको थान भएकाले ‘छुई’ भएको समयमा जानु हुँदैन भन्ने मान्यता छ । छुई भएको महिलाले देवताको थान छोएमा देवता रिसाउने र अनिष्ट हुने विश्वास यहाँका मानिसहरूमा रहँदै आएको जोशीले बताइन् ।
उनी मात्र होइनन् उनीसँगै आठ कक्षामा पढ्ने छात्रा मन्देवी जोशी भन्छिन्-‘विद्यालयमा देवताको मन्दिर बनाएर राखिएको छ । विद्यालय आउने बाटो भरी देवताका मन्दिर छन् । छुई भएको समयमा हिड्ने बाटो समेत छैन भन्दै अभिभावकहरूले छुई भएको पाँच दिनसम्म रोक लगाउँछन् ।’
किर्तिचौर माविमा २ सय ५० छात्रा अध्ययनरत रहेकामा महिनावारी भएको समयमा छात्राहरू विद्यालय पढ्न नआउने गरेको भएपनि विद्यालयबाट कुनै बाधाअड्चन नगरेको प्रधानाध्यापक डबलबहादुर बोगटीले बताए ।
यसरी वर्षको ६० दिन महिनावारी भएको समय छात्राहरू विद्यालय जान नपाउने कारण उनीहरू पढाइमा समेत कमजोर हुने गरेका छन् । फलस्वरूप उनीहरूले बिचमै विद्यालय छाड्ने गरेका छन् ।