उद्योग वाणिज्य सङ्घ सुर्खेतले एकलौटी रूपमा संघको विधान संशोधन गरेको विरोधमा उत्रेका व्यापारीहरूमाथि वैशाख १५ गते प्रहरीले लाठीचार्ज गर्दा पाँच जना घाइते भएका छन् ।
लाठी प्रहारबाट व्यापारीहरू ४० वर्षीया चन्द्रा धामी, ३५ वर्षीया बालकुमारी थापा, ४६ वर्षीय डम्मर तिवारी, ४० वर्षीय केदार शर्मा र उद्योग बाणिज्य सङ्घ सुर्खेतका पुर्व अध्यक्ष ५० वर्षीय विष्णु शाही घाइते भएका हुन् ।
शान्तिपुर्ण रूपमा विरोधमा उत्रेको र्यालीलाई बिच सडकमा रोकी प्रहरीले जथाभावी लाठीचार्ज गरेको च्याम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणी शर्माले बताए । र्यालीपछि उद्योग वाणिज्य सङ्घको प्राङ्खणमा कोणसभा गर्ने कार्यक्रम रहेको थियो ।
घाइते धामी र थापाको उपचार देउती नर्सिङ्ख होममा भइरहेको र अन्य तीनजना उपचारपछि घर फर्किसकेको अध्यक्ष शर्माले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले विगत एक महिनादेखि उद्योग वाणिज्य सङ्घमा देखिएको विवाद चरम बन्दै गएकाले यसलाई रोक्ने क्रममा सामान्य धरपक्कड भएको तर लाठीचार्ज नगरिएको बताए ।
नेपाली काङ्ग्रेस समर्थक व्यापारीहरूको वर्चस्व रहेको उद्योग वाणिज्य सङ्घ सुर्खेतले एकलौटी रूपमा विधान संशोधन गरेको विरोधमा अन्य व्यापारीहरूले एक महिनाअघि उद्योग वाणिज्य सङ्घमा तालाबन्दी गरेपछि प्रहरीको सहयोगमा तालाबन्दी खोल्ने र तालाबन्दी गर्ने प्रक्रिया नियमित रूपमा चलिरहेको थियो ।