INSEC Online

📅 २०८३ जेष्ठ २१

बाजुरा कारागार जीर्ण भएकाले सुरक्षामा चुनौती

बाजुरा जिल्लाको ‘ङ’ श्रेणीको कारागारमा जीर्ण हुँदा सुरक्षा चुनौती थपिनुका साथै कैदी बन्दीहरूलाई व्यवस्थापनमा समस्या भएको छ ।

२०३९ सालमा  निर्माण गरिएको बाजुरा कारागार पुरानो भएर चुईने भएको छ । वर्षात सुरू भएसँगै यस्तो समस्या हुने भएको छ । २५ जना क्षमता भएको कैदीबन्दी गृहमा हाल ३१ जना कैदीबन्दी रहेका छन् ।

कैदीबन्दी गृहमा सुरक्षा चौनौती रहेको जेलर नन्दसिंह कार्कीले बताए । कैदीबन्दीको सुरक्षाका लागि २० जनाको दरबन्दी भए पनि दरबन्दी अनुसार सुरक्षाकर्मी नहुँदा कारागार सुरक्षाको चुनौती थपिएको हो ।

एक जना एचए दरबन्दी रहेपनि सो पद रिक्त हुँदा कैदीबन्दीको उपचारमा समेत समस्या भएको जेलर कार्कीले बताए ।

बन्दी गृहमा कर्तव्य ज्यान मुद्दामा १० जना कैदी, चार जना थुनुवा गरी १४ जना, बलात्कार मुद्दामा आठ जना कैदी, तीन जना थुनुवा गरी ११ जना, ज्यान मार्ने उद्योग एक जना, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थुनुवा एक जना लागु औषध मुद्दामा थुनुवा दुई जना र बालविवाह मुद्दामा एक जना गरी ३१ जना रहेका छन् । जसमा कैदी १९ जना र थुनुवा १२ जना रहेको जिल्ला कारागार कार्यालय बाजुराले जनाएको छ ।

खानेपानी गुणस्तरीय नभएको तथा शौचालयको समेत समस्या रहेको कैदीबन्दीको गुनासो छ । कैदीबन्दीहरूलाई केही सिपमुलक तालिमका लागि माग गर्दा पनि प्रशासनले वास्ता नगरेको बन्दी मोहन विष्टले गुनासो गरे । कैदीबन्दीले मनोरञ्जनका लागि केही पनि व्यवस्था नभएको तथा पुस्तकहरूको माग गर्दा समेत नपाइएको गुनासो गरेका छन् ।

अन्य

भिडियो