टेम्केमैयुङ गाउँपालिका-४ का एमाले कार्यकर्ता २९ वर्षीय गङ्गाराज राईलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सोही ठाउँका ३० वर्षीय सञ्जय राईले वैशाख ११ गते कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
कुटपीटपछि पीडित राईले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका हुन् । सामान्य राजनीतिक विवाद हुँदा एमाले कार्यकर्ता राईलाई नेकपाका कार्यकर्ता सञ्जयले भोजपुर नपा-७ बैङ्करोडमा कुटपिट गरेको पीडितले बताए ।
कुटपिटका कारण एमाले कार्यकर्ता राईको अनुहार र टाउकोमा चोट लागेको छ । उनको उपचार जिल्ला अस्पताल भोजपुरमा भएको छ ।
पीडित पक्षको उजुरीलगत्तै आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित राई एमालेको भातृसङ्गठन युवा सङ्घका जिल्ला सदस्य हुन भने सञ्जय नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाका जिल्ला सदस्य हुन् ।