बाँकेको डुडुवा गाउँपालिका–४ मा एक बालिकालाई बलात्कार गरेको घटनाको सम्बन्धमा विभिन्न अधिकारकर्मी र कानुन व्यवसायीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
ध्यानाकर्षणमा पीडित पक्षका तर्फबाट जिल्ला प्रहरी कार्यालय, बाँकेमा परेको उजुरी अनुसार डुडुवा गाउँपालिका– ४ का २६ वर्षीय सद्दाम खाँले बालिकालाई बलात्कार गरेको भन्ने विषयले आफूहरु स्तब्ध भएको उल्लेख गरिएको छ ।
बालिका बलात्कारको घटनाले समाजमा उब्जाएको महिला तथा बालिका प्रतिको असुरक्षा एक गम्भीर सवाल बनेको औँल्याउदै घटनाका सन्र्दभमा जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षबाट उजुरी दर्ता भएको परिप्रेक्ष्यमा सम्बन्धित निकायले अविलम्ब सत्यतथ्य पत्ता लगाई घटनामा संलग्न जोकोही भएपनि कानूनी दायरामा ल्याई कडा कारबाहीका लागि ध्यानाकर्षण मार्फत अपिल गरिएको छ ।
“विभिन्न व्यक्तिहरुले सार्वजनिक वालहरुमा पीडित बालिकालाई थप पीडा हुने गरी आरोपित भनिने सद्दाम खाँसँगका आपत्तिजनक तस्विरहरु समेत सार्वजनिक गरिएको घटनाप्रति समेत हाम्रो ध्यानाकर्षण भएको छ । उक्त आपराधिक कार्यबाट बालिक समाजमा स–सम्मान, सुरक्षित र भयरहित वातावरणमा जीउन पाउने संवैधानिक तथा कानुनी हक अधिकारको समेत हनन् भएको हाम्रो ठहर छ । यस्ता घटनामा संलग्न समेतलाई अविलम्ब कानूनी दायरामा ल्याई कारबाहीका लागि अनुरोध गर्दछौँ । साथै यस्ता घटना समाजमा पुनः दोहोरिन नदिनका लागि सुनिश्चित गर्न हामी सम्बन्धित सबै सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्दछौँ” पत्रमा भनिएको छ ।
सार्वजनिक सरोकार कानुन व्यवसायी समूह बाँकेका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एड्भोकेसी नेपाल लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, आई.एच.आर.सी. बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, सार्वजनिक सरोकार कानुन व्यवसायी समूह सचिव अधिवक्ता सुनिता शर्मा, सार्वजनिक सरोकार कानुन व्यवसायी समूह कोषाध्यक्ष अधिवक्ता केवल सिंह थारु, र सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष अधिवक्ता बल बहादुर चन्दले संयुक्त रूपमा हस्ताक्षर गरी ध्यानाकर्षण जारी गरिएको छ ।