‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐकयबद्धता’ भन्ने मुल नाराका साथ कैलालीमा ३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ तारिख तथा मङ्सिर १० गते धनगढीमा प्रभातफेरी गरी सुरु गरिएको छ ।
मानव अधिकारको क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थालगायत स्थानीय सरकार र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन प्रभातफेरी र्याली गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री मेघराज खड्काले घर भित्रैदेखि लैङ्गिक हिंसाको अन्त्य हुन आवश्यक रहेको बताउँदै ३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभकामना दिनु भयो ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले सरकार र संघसंस्थाहरु एकआपसमा सहकार्य गरी बिभिन्न चेतना मुलक कार्यक्रम गरेर लैङ्गिक हिंसा अन्त्य गर्नका लागि महिलाहरुलाई आर्थिक उपार्जन गर्न प्रोत्साहित गरी महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाएर लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय, कैलालीका सहायक प्रमुख जिल्ला अधकारी किरण जोशीले गरिबी, अशिक्षा, अन्धविश्वास, पछौटेपन, चेतनाको अभाव, कुप्रथाजन्य तत्वका कारण लैङ्गिक हिंसाले जडो गाडेको समाजमा चेतनाको दियो बाल्न आवश्यक रहेको बतउनु भयो ।
गैरसरकारी संघसंस्था महासंघका केन्दीय सदस्य साबित्रा घिमिरेले कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा र दोषीलाई कानुन बमोजिमको कारबाही नहँुदा हरेक वर्ष लैङ्गिक हिंसाका घटनामा बृद्धिभइरहेको र राज्यले नागरिकको सुरक्षाको जिम्मेवारी नलिदा समाजमा बिभिन्न किसिमको घटनाहरु भइरहेको बताउनु भयो ।

इन्सेकलगायत २२ ओटा संघसंस्थाहरुले महिलामाथि हुने हिंसाका घटनामा कमि ल्याउन राज्य बढि जिम्मेवार हुनु पर्ने भन्दै ध्यानाकर्षण समेत गरेका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरी मनाइने गरिएको छ ।