
“संंरचनात्मक विभेद विरुद्ध प्रतिकार : श्रमिक महिलाहरूको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार” मुल नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २२ गते नवराजपुर गाउँपालिकामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नवराजपुर गाउँपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मुक्ति नेपाल, सहयोगि हातहरू, महिला मानवअधिकार रक्षक सञ्जाल, समग्र जनउत्थान केन्द्र, दलित जन कल्याण यूवा कल्व लगायतका संघ संस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरकृया कार्यक्रममा नवराजपुर गाउँपालिकाको अध्यक्ष शिवउदगार यादवले पालिकाको अवस्था र व्यवस्थालाई परिवर्तन गर्न हामी लागि परेको बताउनु भयो । हामी आउनु अघि पालिकामा शिक्षा, स्वास्थ्यको अवस्था दयनीय थियो र त्यसलाई सुधार गरेको बताउनु भयो । परिवर्तन एक्लैले सम्भव नभएकोले सबैको साथ र सहयोगको आवश्यक्ता रहेकोले संघ संस्थाले सहयोग गर्नु पर्नुे बताउनु भयो ।
त्यसैगरी, गाउँपालिकाका उपाध्यक्ष पुनम यादवले परिवर्तन आफू र आफ्नै घरबाट शुरु गर्नु पर्नेमा जोड दिनु भयो । पालिकाले श्रमिक महिलाहरूको लागि र हिंसा रोकथामको लागि सदैव तयार रहेको बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर रविनराज मैनालीले यस पालिकामा बढी नक्कली घटनाहरू उजुरीको रुपमा आउने बताउनु भयो । अनुसन्धान नगरी मुद्दा दर्ता गर्दा राजनीति प्रतिशोधमा उजुरीहरू आउने गरेकोले वास्तविक पीडितहरू समस्यामा पर्ने बताउनु भयो । श्रमिक महिलाहरूमाथि कार्यस्थलमा यौन शोषण, यौन दुर्व्यवहार जस्ता घटनाहरू हुने इन्स्पेक्टर मैनालीले बताउनु भयो । सरकारी कर्मचारीहरूमा महिला र पुरुषमा तलबमा भेदभाव नभए तापनि गाउँ घरमा यस्ता विभेद हुने गरेको उहाँले बताउनु भयो । साथै अपराध रोकथामको लागि नागरिकहरूको सहयोग आवश्यक रहेको इन्स्पेक्टर मैनालीले बताउनु भयो ।

मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले अधिकार प्राप्त गर्न महिलाहरूले आन्दोलन गर्नु पर्ने बताउनु भयो । सामाजिक संरचनाले महिलाहरूलाई विभेद गरेको बताउनु भयो । श्रमिक महिलाहरूको वीमा, सुरक्षा, सञ्चयकोषको व्यवस्था नभएकोले राज्य र स्थानीय सरकारले यस विषयमा नीति बनाउनु पर्नेमा जोड दिनुभयो ।

