जिल्लामा रहेका राजनीतिक दल, नागरिक संघसंस्था, अधिकारकर्मी, कानुन व्यवसायी, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सञ्चारकर्मीहरूको सहभागितामा सम्पन्न बैठकले ‘हिंसा निगरानी समुह’ गठन गरेको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा पुस २१ गते वीरेन्द्रनगरमा आयोजित बैठकमार्फत् २५ सदस्यीय हिंसा निगरानी समुह गठन गरिएको हो ।
अधिवक्ता गीता काईरालाको संयोजकत्वमा गठित समुहको सचिवालय सदस्यमा शान्ता कँडेल, खगिसरा वली, सविना बानु, अञ्जली बिसी, चमेली जिसी, टेकेन्द्र सुनार, विष्णु शर्मा, रमा केसी, राजेन्द्र शर्मा र शेरबहादुर थापा रहनुभएको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । समुहका अन्य सदस्यहरूमा विभिन्न संघसंस्थाका प्रतिनिधि रहेको समेत संयोजक सुवेदीले बताउनुभयो ।
समुहको सल्लाहकार समितिमा नेकपाका प्रतिनिधि टिकाराम शर्मा, नेपाली कांग्रेसका प्रतिनिधि अनन्त पौडेल, नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकाल, गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी र नागरिक समाजका प्रतिनिधि पुर्णप्रसाद पौडेल रहनुभएको छ ।
नवगठित समुहले वीरेन्द्रनगर नगरपालिकामा हुने सबैखाले हिंसा घटनाका पीडितहरूलाई न्यायको पहुँच पुर्याउन सहजीकरण गर्ने मानव अधिकार अधिकृत टिकाप्रसाद अवस्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले समाजमा घट्ने घरेलु हिंसा लगायतका घटनाहरूलाई न्युनीकरण गर्न यस प्रकारका समुहको खाँचो रहेको बताउनुभयो ।
द्वन्द्वपीडित साझा चौतारी, कर्णाली प्रदेशका अध्यक्ष सितला सिंह राठौरले वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सबै वडाका न्यायिक समिति र अन्य न्यायिक निकायसम्म हिंसापीडितहरूको पहुँच पुर्याउन निगरानी समुह लाग्नुपर्नेमा जोड दिनुभयो ।

