दिनहुँ जसो हुने मानव अधिकार उल्लङ्घन, महिला तथा बालबालिका माथिको दुव्र्यवहारको कारण खोज्न जरूरी रहेको जेठ २३ गते इलाममा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्कतकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् ।
इलाममा भइरहेका बलात्कार, सम्वन्ध विच्छेद, घरेलु हिंसा र आत्महत्याका घटना गम्भीर रहेको र अस्वभाविक ढङ्गले यस्ता घटना भएको भन्दै सहभागीले अब ती घटना कस्तो व्यक्ति, परिवार र समुदायमा भइरहेका छन्, तिनीहरूको अध्ययन जरूरी रहेको औँल्याए ।

इन्सेक जिल्ला प्रतिनिधि कोकिला ढकालले जनवरी २०१८ देखि जुन महिनाको हालसम्म भएका घटनाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा घटना फरक किसिमका हुन थालेको भन्दै यस्ता घटना नेपाल मानव अधिकार वर्ष पुस्कतमा समेटिने किसिमको नीति आवश्यक रहेको अधिवक्ता टीका पौड्याल (भारद्धाज)ले बताइन् ।
जिल्ला न्यायाधीवक्ता ऋद्धि निरौलाले घटनाका दोषी थाहा हुँदाहुँदै पनि छिमेकीहरूले थाहा नपाएजस्तो गर्ने र आफ्नो कामधन्दामा असर पर्ने ठानेर दोषीलाई उम्काउने उपाया रच्ने गरेको पाइएको बताए । अपराधीलाई कारबाही गर्नुपर्छ भन्ने चेतना विकास अझै नभएको उनको भनाई छ ।
अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा पुसदेखि जेठसम्ममा बालिका बलात्कारका सात वटा घटना भइसकेको देखाउँछ । ६ जना महिला बलात्कारबाट पीडित भएको अभिलेख छ । यो अवधिमा घरेलु हिंसाका १५ घटना अभिलेखित छन् । यो अवधिमा ४५ जनाले आत्महत्या गरिसकेका छन् । पुरुष, महिला र शिशु गरी ३ जनाको हत्या भइसकेको छ । २ बालिका कुटपिटबाट पीडित भएका छन् ।
प्रहरी र अदालतमा भन्दा फरकखाले बलात्कार र हिंसाका घटनाको सूचना आफ्नो कार्यालयमा पनि आइरहेको भन्दै महिला विकास अधिकृत राजकुमारी राईले पीडितलाई लक्षित गरेर एउटा बेग्लै भिक्टिम कोष खडा गर्नुपर्ने अवस्था आएको बताइन् । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार घिमिरेले जिल्लामा तथ्याङ्कगत रूपमै यतिधेरै घटना भएकाले यी घटनालाई कसरी किनारा लगाउने र होटलमा रहेका बालबालिकाको उद्धार कसरी गर्ने भन्ने विषय आफूहरूलाई चुनौती रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी माधवप्रसाद श्रेष्ठले हिंसाका घटनाको अवस्था कहाली लाग्दो रहेको र पीडितहरूलाई कहाँ लगेर राख्ने भन्ने चुनौती रहेको बताए ।
कोकिला ढकाल