INSEC Online

📅 २०८३ जेष्ठ २१

हरेक परिवर्तनमा खबरदारीको अग्रमोर्चामा इन्सेक : प्रमुख भण्डारी

पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले नेपालमा भएका ठूलाठूला परिवर्तनमा खबरदारीको अग्र मोर्चामा इन्सेक रहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा असार १२ गते आयोजित मानव अधिकार समूहका सदस्यहरूको अनुगमन तथा अनुभव अदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो ।

‘द्वन्द्वकालदेखि हालसम्मका हरेक परिवर्तनमा इन्सेक अग्रमोर्चामा छ । आफ्नो अधिकार माग्दा अरुको अधिकारको पनि ध्यान दिन जरुरी छ,’ प्रमुख भण्डारीले भन्नुभयो, ‘लोकतन्त्रमा मात्रै मानव अधिकारको रक्षा हुन्छ । त्यसमा स्थानीय सरकार पनि प्रतिवद्ध छ ।’

उहाँले पछिल्लो समय सूचना प्रविधिले फड्को मारेसँगै त्यसको दुरुपयोग बढेपछि मानव अधिकार हननका घटनामा वृद्धि भएको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, सीमान्तकृत समुदायको विकासका लागि अपाङ्गता, अति अशक्त, अति विपन्न, अनाथ र असहायलाई सहयोग गर्ने नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको उहाँले बताउनुभयो ।
नागरिकलाई सेवा दिन स्थानीय सरकार पूर्ण प्रतिवद्ध रहेको जनाउँदै नगरप्रमुख भण्डारीले पालिकाका स्थानीयबासीलाई निशुल्क रगत उपलब्ध गराउने पालिकाले निर्णय गरेको जानकारी दिनुभयो ।

पञ्चपुरी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर विसीले सामाजमा विभिन्न किसिमका विकृतिहरू रहेको बताउँदै त्यसको न्युनीकरण र मानव अधिकारको रक्षाका लागि वडाले विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।

वडा नम्बर ४ का वडाअध्यक्ष रामप्रसाद अधिकारीले मानव अधिकारका लागि छुट्टै काम नगरेपनि मानवकै मौलिक हक अधिकार सुनिश्चितताको लागि स्वच्छ पानी, शौचालय, बालबालिकाले पाउनुपर्ने शिक्षा, महिलाको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम गरेको बताउनुभयो । डिभिजन वन कार्यालय भेरीका प्रमुख बलमराज चौधरीले मानव अधिकारको रक्षाका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताउँदै इन्सेकले वातावरण संरक्षणमा समेत काम गरेको भन्दै प्रसंशा गर्नुभयो । उहाँले वातावरण संरक्षणमा सबैले ध्यान दिए धेरै कुराहरू मानव अधिकारसँग सम्बन्धित रहने बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत इन्सेकले गरिरहेको कार्यक्रमका विषयमा जानकारी गराउँदै आगामी दिनमा स्थानीय तहसँगको सहकार्य र समन्वयमा मानव अधिकार शिक्षा कार्यक्रम संचालन गर्न इन्सेक तयार रहेको बताउनु भयो ।

मानव अधिकार समूहका सिकाइ, अनुभव, उपलब्धी आदान प्रदान गर्न यस कार्यक्रमको आयोजना गरेको बताउदै प्रदेश संयोजक सुवेदीले स्थानीय तहको आर्थिक, सामाजिक, तथा साँस्कृतिक अधिकारको अवस्थाका विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग जानकारी लिनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

पालिकामा भएका राम्रा अनुभव र सिकाई एक आपसमा आदान प्रदान गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको मानव अधिकार समूह कर्णाली प्रदेशका संयोजक इन्द्रा विसीले बताउनु भयो ।

कार्यक्रममा इन्सेकका फोकल पर्सन दुर्गा थापा, दैलेखको दुल्लु नगरपालिकाका टेकबहादुर सूजी, चामुण्डा विन्द्रासैनीका संयोजक बलिराम जैसी, बराहताल गाउँपालिकाकी सुमित्रा सिजाली, पञ्चपुरी नपाका मोतिप्रसाद सापकोटा, सहजकर्ताद्वय कलम नेपाली र ललिता विश्वकर्माले मानव अधिकार शिक्षा कार्यक्रमका सिकाइ, अनुभव र उपलब्धीका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा दैलेख जिल्लाको दुल्लु र चामुण्डा विन्द्रासैनी नगरपालिका,  सुर्खेत जिल्लाको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाबाट ४५ जना मानव अधिकार समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
Photo20240627Surkhet (2)

Photo20240627Surkhet (5)

Photo20240627Surkhet (3)

Photo20240627Surkhet (4)

अन्य

भिडियो