राप्ती सोनारी गाउँपालिकास्थित स्वास्थ्य संस्थाबाट निशुल्क औषधिहरू नपाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्ज र मानव अधिकार समूहद्वारा माघ १३ गते आयोजित समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठकमा सेवाग्राहीहरूले उक्त गुनासो गरेका हुन् ।
इन्सेक नेपालगन्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले शिक्षा, स्वास्थ्य, खाद्य र आवास रहेका समस्याहरू पहिचान गरि समाधानकालागि अगाडि बढाउने बताउनु भएको थियो ।
मानव अधिकार समुहकी संयोजक धनि वलीले स्वास्थ्य संस्थामा निशुल्क भनिएका औषधि पर्याप्त नपाएकोले आफुहरूले बाहिरबाट खरिद गर्दै आएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा ३५ प्रकारका औषधिको सुचि समेत नराखेको बताउनुभयो ।
वलीले गाँउपालिकामा एम्बुलेन्सको सुविधा नभएकाले बिरामीलाई अस्पतालसम्म पुरयाउन समस्या रहेको बताउनु भयो ।
विपन्न परिवारलाई आवास उपलब्ध गराउने र बाल विवाह न्यूनिकरणका विषय कार्ययोजनामा समेटिएका छन् ।