कपिलवस्तु जिल्लाका स्वास्थ्य संस्था र कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गर्दै मानव अधिकार निगरानी समूहले जिल्लास्थित कार्यालयहरूमा ध्यानाकर्षण गराउँदै कात्तिक १२ गते ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुन थालेको भन्दै इन्सेक आबद्ध जिल्ला स्तरीय मानव अधिकार निगरानी समुहका सदस्य सहित जिल्लाका अधिकारकर्मीहरूको टोली जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराएको हो ।
जिल्लाका स्वास्थ्य संस्थामा नयाँ आर्थिक वर्षसँगै औषधि वितरण नभएपछि अधिकांश स्वास्थ्य संस्थाहरूमा ७५ प्रतिशत भन्दा बढी औषधि सकिएको जिल्ला स्वाथ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
सरकारले स्वास्थ्यको बजेट स्थानीय तहमा पठाइसकेको र स्वास्थ्य संस्थाहरू स्थानीय तहको मातहतमा गएकोले सबै जिम्मेवारी स्थानीय तहको हुने स्वास्थ्य कार्यालयका प्रमुख भगतको भनाई छ ।
स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा दुईजना कर्मचारी खटाई सकेकोले स्थानीय तहले समन्वय गरेर औषधि खरिद गर्नुपर्ने कार्यालयका प्रमुख भगतले बताए ।
बुद्धभूमि नगरपालिकाले तत्काल औषधि खरिदका लागि ५ लाख रकम छुट्याएको भएपनि नगरपालिकाका कार्यकारी तथा लेखा अधिकृत कार्यलयमा नहुँदा खरिद गर्न नसकिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
स्वास्थको अधिकार नागरिकको मौलिक अधिकारको रूपमा रहेको भएपनि राज्यले निःशुल्क रूपमा दिने औषधि विगत लामो समयदेखि जिल्लामा अभाव रहेकोले नागरिकलाई तत्काल उपलब्ध गराउनु पर्ने भन्दै मानव अधिकार निगरानी समूहले सम्बन्धित निकायको ध्यानाकृष्ट गराइएको निगरानी समूहले जनाएको छ ।
त्यसैगरी मानव अधिकार निगरानी समूह, तिलौराकोटले कृषि तथा पशु कार्यालयमार्फत राज्यले निःशुल्क भनिएका बिउ/मल खेतिपातीको समयमा कृषकले नपाएको भन्दै कपिलवस्तु नपा अर्न्तगत रहेको कृषि तथा पशु शाखामा कात्तिक १३ गते ज्ञापनपत्र बुझाएको छ ।
नन्दराम पौडेल