अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम असोज १५ गते खाँडाचक्रमा सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रियामा खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीले संविधानको धारा ३५ ले दिएको स्वास्थ्यको अधिकारलाई परिपूर्ति गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले संविधान बनेको तीन वर्षभित्र ऐन बनाई कार्यन्वयन गर्नु पर्ने प्रवाधान अनुसार नगरपालिकाले स्वास्थ्यको अधिकार परिपूर्ति गर्न लागि परेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक विन्दाकुमारी शाहीले नगरपालिकाभित्रका स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ र बर्थिङ सेन्टरहरूमा जनशक्ति, औषधि र उपकरणको अभाव रहेको बताउनु भयो ।
कार्यक्रममा कार्यक्रममा खाँडाचक्र अस्पतालका प्रतिनिधि जगदिश नेपालीले अस्पतालमा ४७ जनाको दरबन्दी रहेको भएपनि १४ जना मात्र स्वास्थ्यकर्मी कार्यरत रहेकाले सेवा दिन कििठन भएको बताउनु भयो ।
कार्यक्रममा सरोकारवालाहरूले नगरपालिकामा औषधि खरिदमा भएको ढिलाइ, अस्पतालमा भवन, औषधि र उपकरणको अभावलगायतका समस्या समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
