मानव अधिकार रक्षक सञ्जाल, कोशीले स्वास्थ्य अधिकारलाई नागरिकको मौलिक हकका रूपमा पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्रीलाई १८ बुँदे ज्ञापनपत्र साउन ११ गते बुझाएको छ।
सञ्जालले स्वास्थ्य सेवा सबै नागरिकको सहज पहुँचमा पुर्याउन, प्रदेश जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्न तथा संविधानले प्रत्याभूत गरेका स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो।
इन्सेकद्वारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत कोशी प्रदेशमा ०८२ मङ्सिर २ गते गठन गरेको प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालले प्रदेश सरकारका स्वास्थ्य मन्त्रीलाइ ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा प्रदेशभर गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न, सुरक्षित खानेपानीको उपलब्धता विस्तार गर्न तथा स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी बनाउन विशेष पहल गर्नुपर्ने उल्लेख गरिएको छ।
सञ्जालले हेमोफिलियाका बिरामीका लागि आवश्यक औषधिको नियमित खरिद तथा निःशुल्क वितरणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्याउने, स्थानीय तहमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिने तथा प्रत्येक जिल्ला अस्पतालमा आकस्मिक, शल्यक्रिया र मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।
यस्तै, खोप अभियानलाई लक्षित समुदायसम्म प्रभावकारी रूपमा विस्तार गर्ने, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव पनि ज्ञापनपत्रमा समेटिएको छ।
सञ्जालले अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति, मानसिक रोगी तथा विपन्न नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गर्न, प्रदेश मातहतका अस्पतालमा ज्येष्ठ नागरिक उपचार सेवा सञ्चालन गर्न तथा स्वास्थ्य क्षेत्रका सबै कार्यक्रमलाई मानव अधिकारमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
त्यसैगरी, नेपालको संविधानले सुनिश्चित गरेका स्वास्थ्य, खाद्य, बालबालिका, स्वच्छ वातावरण तथा सामाजिक न्यायसम्बन्धी मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार जिम्मेवार र जवाफदेही बन्नुपर्ने सञ्जालको माग छ। साथै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा पनि प्रदेश सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
मानव अधिकार रक्षक सञ्जाल, कोशीले प्रदेश सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने गरी आवश्यक नीति, योजना र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले बताउनु भएको छ ।