INSEC Online

📅 २०८३ श्रावण १

स्रोत कक्षा नहुँदा अपाङ्गता भएका बाल बालिका शिक्षाबाट बञ्चित

बैजनाथ गाउँपालिका मातहतका विद्यालयहरूमा  अपाङ्गता भएका बाल बालिकाहरूकालागि  स्रोत कक्षा नहुँदा  अपाङ्गता भएका  बाल बालिका शिक्षाबाट  बञ्चित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्ज र मानव अधिकार समूहद्वारा माघ २७ गते आयोजित  शिक्षा , स्वास्थ्य , खाद्य र आवासमा रहेका समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठकमा सहभागिहरूले उक्त कुरा बताउनु भएको हो ।

मानव अधिकार समुहका संयोजक भागिलाल विकले बैजनाथ गाउँपालिकामा रहेका विद्यालयहरूमा अपाङ्गता भएका  बालबालिकाहरूकोलागि छुट्टै स्रोत कक्षा नभएकोले बालबालिकालाई अभिभावकहरूले  गाउँपालिका बाहिर पठाउन बाध्य हुनु परेको बताउनु भयो । उहाँले अपाङ्गता भएका बालबालिकाहरूलाई गाउँ देखि टाढा पठाउँदा बालबालिकाहरू असुरक्षति हुने समस्या भएकोले गाउँपालिका भित्रका विद्यालयहरूमा स्रोत कक्षा सञ्चालन गरिनु पर्ने माग गर्नुभयो ।

कृषि  शाखा प्रमुख प्रमोद बिकले साना किसानकालागि अनुदान , करेसाबारी सम्बन्धि कार्यक्रम गरिरहेको बताउँदै कृषकहरुलाई चाहिएको बिउ र कृषि सामाग्री उपलब्ध गराएको बताउनु भयो । महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले महिला र बालबालिका सम्बन्धी सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।

मानव अधिकार निगरानी समूहका पूर्व  संयोजक चित्रप्रसाद शर्माले शिक्षामा रहेका समस्याहरूमा शिक्षक अभिभावक संघको नियमित बैठक नबस्नु ,अपाङ्ग मैत्री शौचालय नभएको , शुद्ध खानेपानीको समस्या भएको , शिक्षक दरबन्दी अभाव, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकीहरूमा ल्यावको व्यवस्था नभएको कृर्षि  क्षेत्रमा अनुगमनको समस्या , कृर्षी बिमा र माटो परीक्षण बारे कृषकहरूलाई जानकारी नभएकोले  सामाधानकालागि पहल गर्नुपर्ने बताउनु भयो  ।

 

अन्य

भिडियो