वीरेन्द्रनगर नपाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नपाले निमार्ण गरेको स्थानीय स्वास्थ्य ऐन, २०७६ मा छुटेका विषय संशोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले माघ २० गते वीरेन्द्रनगरमा आयोजना गरेको वीरेन्द्रनगर नपाको स्थानीय स्वास्थ्य ऐन, २०७६ को समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
संघीय तथा प्रदेश सरकारले निमार्ण गर्ने स्वास्थ्य ऐनसँग नबाझियोस भनेर वीरेन्द्रनगर नपाको क्षमता अनुसार स्थानीय स्वास्थ्य सेवा ऐन, २०७६ निमार्ण गरिएको चर्चा गर्दै नगर प्रमुख सुवेदीले ऐनमा देखिएका कमी कमजोरी र त्रुटीलाई सुधार गर्ने बताउनु भयो ।
प्रमुख सुवेदीले वीरेन्द्रनगरवासीलाई सहज र सुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ऐन संशोधन गर्न वीरेन्द्रनगर नपा तयार रहेको पनि उल्लेख गर्नुभयो । समीक्षा कार्यक्रममा आएका सुझावहरू वीरेन्द्रनगर नपाका लागि मनन योग्य भएको बताउँदै प्रमुख सुवेदीले ऐनले समेटन नसकेका स्वास्थ्यका समस्यालाई कार्यविधी र नियमावलीमा प्रमुखताका साथ समावेश गर्ने जानकारी दिनु भयो ।
वीरेन्द्रनगर नपाका कार्यपालिका सदस्य डण्ड बिकले वीरेन्द्रनगर नपामा बसोबास गर्ने निम्न वर्गको स्वास्थ्य सेवामा पहुँच पुग्ने गरी ऐन संशोधन गरिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले समीक्षामा आएका सुझावहरूकै आधारमा ऐन संशोधन र नियमावली निमार्णमा लागिपर्ने बताउनु भयो ।
छलफलका क्रममा एम्बुलेन्स सेवाका विषयमा छुट्टै समिति भएकाले डुब्लीकेशन भयो की भन्ने विषयमा सहभागिहरुले सुझाव दिएका थिए । यसैगरी दोहोरो अर्थ लाग्ने भाषागत क्रुटीलाई सच्चाउनु पर्ने, परिच्छेद –२ दफा ३ को (२) (च) मा लागु औषध तथा दुव्र्यसन व्यवस्थापन सेवा भन्ने वाक्यांशले निरुत्साहन भन्दा सकारात्मक सन्देश दिन सक्ने भएकाले दुव्र्यसन पछि नियन्त्रण शव्द राख्नु पर्ने लगायतका सुझाव सहभागिहरुले दिएका थिए ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले सहभागिहरुबाट आएका सुझाव र कार्यपत्र प्रस्तुताबाट आएका सुझावलाई अन्तिम रुप दिइ नगरपालिकामा बुझाउने प्रतिवद्वता जनाउनु भयो । संयोजक सुवेदीले कार्यक्रममा उठेका सवाललाई नगरपालिकाले संशोधनको विषय बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्व विद्यालय मानविकी संकायका पूर्व डिन पिताम्बर ढकालले वीरेन्द्रनगर नपाको स्थानीय स्वास्थ्य सेवा ऐन, २०७६ को पुनरावलोकन विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, वीरेन्द्रनगर नपाका कार्यपालिका सदस्य, स्वास्थ्यसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, कानुन व्यावसायी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
