अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ को आयोजनामा जेठ १० गते लिसङ्खुपाखर गाउँपालिकामा सेवा प्रदायक निकाय र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमका लिसङ्खुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगङ्गा मोक्तानले कर्मचारीको समस्याले जनताले भनेको जति सेवा दिन समस्या भएको बताइन् ।
उनले कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारलाई इन्सेकमार्फत सुझाव पठाउन चाहेकोसमेत बताइन् ।
सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष रामकुमार थापाले सङ्घीय, प्रदेश र स्थनीय सरकारको मानव अधिकारमैत्री ब्यवहार नभएका कारण मानव अधिकार संरक्षणमा समस्या भएको आरोप लगाए ।
इन्सेको कार्यक्रमको प्रभावले थुम्पाखरस्थित श्री सेतीदेवी माविमा जङ्कफुड लैजान प्रतिबन्ध लगाएकोले बाल बालिकाहरूमा बिरामी हुने समस्या कम भएको वडा अध्यक्ष थापाले बताए ।
लिसङ्खुपाखर गाउँपालिका–७ का वडा अध्यक्ष बयानबाहादुर तामाङले टेण्डर प्रक्रियाले स्वास्थ्य चौकीमा केही समयको लागि औषधिहरूको समस्या हुने बताए ।
इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूहले योजना र कार्यक्रम बनाएर वडामा पेश गरेमा रकम छुट्याउने वडा अध्यक्ष तामाङले प्रतिबद्धता ब्यक्त गरे ।
सेवाग्राहीहरूको तर्फबाट स्थनीय पाल्साङ तामाङले डाँडापाखर स्वास्थ्य चौकीमा औषधि नपाएको गुनासो गरिन् । स्वास्थ्य स्वयम्सेविका राधिका दर्नालले अहिलेका सबै समस्याहरू सुधार गर्नुपर्ने बताइन् ।





नातिबावु धिताल